द आर्ट अफ लिभिङ नेपालले पोखरामा ‘युथ इन एक्सन’ शुरु गर्ने

प्रकाशित मिति:

बुटवल – द आर्ट अफ लिभिङ नेपालले पोखरामा ‘युथ इन एक्सन’ शुरु गर्ने भएको छ । युवा उद्यमशिलता विकास गर्नका लागि ‘अध्यात्म, उद्यमशिलता र गतिशिलता’ नाराका साथ ‘युथ इन एक्सन’ कार्यक्रम गर्न लागेको द आर्ट अफ लिभिङ नेपालले पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । कार्यक्रम आउँदो जेठ १६ गतेदेखि १८ गतेसम्म हुने छ । ‘युथ इन एक्सन’ परियोजना अन्तर्गत तीन दिने युवा सम्मेलन कार्यक्रम गर्ने कार्यक्रम संयोजक सौमाया गुरुङ भट्टराईले जानकारी दिनु भयो ।कार्यक्रममा एक हजार बढी युवाहरु सहभागि हुने भट्टराईले जानकारी दिनुभयो ।

सहभागि हुने युवाहरुको उमेर १८ वर्षदेखि ३५ वर्ष भित्रको हुने उनले बताए । कार्यक्रममा आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयहरुमा युवाहरुलाई नेपालका प्रख्यात मोटिभेसनल स्पिकरहरुले सहजीकरण गर्ने बताउनुभयो । युवाहरुलाई उद्यमशिलतामा लाग्नका लागि प्रेरित गरेर नेपालमै बसेर भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन कार्यक्रम गर्न लागिएको हो । उहाँले भन्नुभयो,‘युवाहरुलाई सामाजिक, आर्थिक र आध्यात्मिक जागरणको माध्यमबाट राष्ट्र निर्माणमा सार्थक सहभागिताका लागि उत्प्रेरित गर्नेछ ।’

युवा दृष्टि र सोंचमा सकारात्मकता उजागर गर्दै उनीहरुको रचनात्मक बिचार, उर्जा र विज्ञताको राष्ट्र निर्माणमा भरपुर उपयोग गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिइएको भट्टराइले बताउनुभयो । तीन दिनसम्म हुने कार्यक्रम दैनिक तीन चरणमा हुने जनाइएको छ । आयोजकका अनुसार विहानी शत्र, दिवा शत्र र सन्ध्या शत्र गरि तीन चरणमा हुनेछ । विहानी शत्रमा दी आर्ट अफ लिभिङको विश्व प्रसिद्ध ह्याप्पीनेस कार्यक्रम हुनेछ ।

जसमा सहभागिलाई आत्यात्मिकताको परिचय, योग, प्रणायाम र ध्यानका साथै सुदर्शन क्रिया सिकाईन्छ । दिवा शत्रमा ‘युवा नेतृत्व तथा उद्यमशिलता कार्यशाला’ हुनेछ । जसमा युवा उद्यमीहरुको सकारात्मक कार्य तथा सफलताका कथाहरु प्रस्तुत गरि सहभागिहरुलाई उद्यमशिलताका लागि उत्पे्ररित गर्नेछ । सन्ध्या शत्रमा सहभागिहरुलाई आ–आफ्ना भौगोलिक र सांस्कृतिक परिचय दिने गीतहरु, नृत्य र झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । सन्ध्या शत्रको मुख्य उद्देश्य राष्ट्रिय एकता र सद्भावको सन्देशलाई बढावा दिनु रहेको छ । द आर्ट अफ लिभिङ कास्कीका संयोजक तथा ओम डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत विश्व अधिकारीले द आर्ट अफ लिभिङले आयोजना गरेको ‘युथ इन एक्सन’ मा सहभागि युवालाई ओम डेभलपमेन्ट वैंकले ७ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने बताउनुभयो ।