नेता पंगेनीको निधनले कांग्रेसलाई ठूलो क्षती पुगेको सभापति देउवाको भनाई, घरमै पुगेर दिए श्रद्धान्जली

प्रकाशित मिति:

स्याङ्जा। नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको ५६ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको छ। भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राती सुतिरहेको अवस्थामा ह्दयघातबाट उनको मृत्यु भएको हो।

सभापति पंगेनीको निधनले स्याङ्जा काँग्रेस मात्रै नभएर स्याङ्जावासी शोकमा डुवेको छ। बल्न लागेको दियो निभेको भन्दै पंगेनीको निधनले सच्चा विकास प्रेमी नेता गुमाएको जिल्लावासीहरुले बताएका छन् ।

स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उनी संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं। २ बाट विजयी भएका थिए ।

राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेका थिए । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्न सफल भएका थिए । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा। शशांक कोईराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ्, नेता गगनकुमार थापा, नेता प्रदिप पौडेलले श्रद्धान्जली अर्पण गरेका थिए ।

श्रद्धान्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताए । लोकतान्त्रिक बाटोबाट जनताको विकासमा पंगेनीले लिएको मार्ग मार्फत जनताको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताए । देउवाले एक लोकतन्त्रको पहरेदार गुमाएकोमा दुःख व्यक्त गरे ।

सभापति पंगेनीको निधनले स्याङ्जा काँग्रेस शोकमा डुवेको छ। स्वर्गिय पंगेनीको पार्थिव शरिरलाई जिल्लाका विभिन्न क्षेत्रका ठुलो संख्यामा पाटी कार्यकर्ता, शुभेच्छुक, इष्टमित्र लगायतले श्रदाञ्जली दिएका थिए । स्वर्गिय पंगेनीको सम्मानमा पार्टी कार्यालयबाट पुतलीबजार नगरपालिकाका प्रमुख भागको परिक्रमा गराएर शब यात्रा निकालिएको थियो । पंगेनीको आइतबारनै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको कांग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिए ।