श्रीमान् गम्भीर नेपाली…बजाउने दुई युवा प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

बुटवल – सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान श्रीमान् गम्भिर नेपाली.. बजाएको भन्दै बुटवलबाट प्रहरीले दुई युवालाइ नियन्त्रणमा लिएको छ। शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देही अध्यक्ष महेन्द्र बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा रहेका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन्। अनसनरत केसीको जीवन रक्षा गर्न र उनीसगै पक्राउ परेका शाही युवा शक्ति नेपाल रुपन्देहीका अध्यक्ष बिश्वकर्मालाई तत्काल रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेका छन्। बुटवलमा पत्रकार सम्मेलन गरी शाहीकी श्रीमति शक्ति क्षेत्रीले बिना कारण पक्राउ गरिएको भन्दै तत्काल रिहा गरी जीवन रक्षाको माग गरेकी छन्।

प्रितमकी श्रीमति शक्ति क्षेत्री र शाही युवा शक्ति नेपाल रुपन्देही उपाध्यक्ष सुनिता गहतराजले मुलुक अहिले हत्या हिंसा र आतंकले आक्रान्त बनेको बताउदै त्यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कार्बाही नगर्ने तर पुरानो राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ गरेर थुन्ने यो कस्तो लोकतन्त्र हो भनि प्रश्न समेत गरे । नागरीक समाजका अभियन्ता बजिर थापाले आफुलाई मन परेको राष्ट्रिय गान बजाउन नपाइने कस्तो गणतन्त्र हो भनी प्रश्न गरे। संबिधान र कानूनले प्रतिबन्ध नलगाएको गीत बजाउँदा मुद्धा चलाउनु जायज नभएको थापाको भनाई छ।

आन्दोलनको चेतावनी – मुद्धा खारेज गरी २४ घण्टाभित्र रिहा नगरे शाही युवा शक्ति नेपालले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। गत बैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको सुरुमा तत्कालीन राष्ट्रियगान बजाएको आरोपमा प्रहरीले बैशाख २९ गते बेलुका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा बोलाई हिरासतमा लिएको थियो। उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए।