के हो श्रीकृष्णका १६ हजार पत्नीको रहस्य ?

प्रकाशित मिति:

एजेन्सी – भगवान् कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार पत्नीहरूको प्रसंग पनि आउँछ । कसरी श्रीकृष्णले सोह्र हजार पत्नीसँग विवाह गर्नुभयो त ? पौराणिक कथाहरूका अनुसार एक दिन देवराज इन्द्रले भगवान् श्रीकृष्णलाई प्राग्ज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारका बारेमा अवगत गराए । इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण आफ्नी प्यारी पटरानी सत्यभामाका साथ गरुडमा सवार भएर प्राग्ज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवानले मुर दैत्यको वध गर्नुभयो ।

मुर दैत्यको वध भएको खबर पाएपछि भौमासुर आफ्ना सेनापति तथा दैत्यहरूको सेनालाई साथ लिएर युद्ध गर्न आयो । भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । त्यसैले भगवानले सत्यभामालाई सारथी बनाउनुभयो र घोर युद्धपछि अन्त्यमा उहाँले सत्यभामाको सहयोगमा उसको वध गरिदिनुभयो ।

यसरी भौमासुरलाई श्रीकृष्णले मारेपछि उसको पुत्र भगदत्तलाई अभयदान दिएर उसलाई प्राग्ज्योतिषको राजा बनाउनुभयो । भौमासुरले अपहरण गरेर राखेका १६ हजार कन्यालाई उहाँले मुक्त गरिदिनुभयो । ती अपहृत नारीहरूलाई तत्कालीन समाजले स्वीकार नगर्ने भएकाले श्रीकृष्णले उनीहरूलाई पत्नीरूपमा स्वीकार गर्नुभयो । यसरी उहाँका आठ पटरानीका अलावा १६ हजार पत्नी भए ।