पत्रकार किरण मरहट्ठाको पुस्तक क्यालिफोर्निया स्टेट युनिभर्सीटी, लगबीचमा विमोचन

प्रकाशित मिति:

काठमाडौं –  पत्रकार किरण मरहट्ठाको पुस्तक  नेपाली हु इज हु इन द युएसए  क्यालिफोर्निया स्टेट युनिभर्सीटी लगबीचमा आइतबार विमोचन गरियो ।

विश्वविद्यालयको प्रोफेसनल तथा इन्टरनेसनल एजुकेसनका उपाध्यक्ष तथा डिन जीत जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, नेपाली अवैतनिक राजदूत ऋषि ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल र डिन जोशीले संयुक्त रूपमा विमोचन गरेका थिए । विश्वविद्यालयका डिन जीत जोशीले नेपाली हु इज हु आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । उनले विद्यार्थी र अनुसन्धातालाई उपयोगी हुने पुस्तक भएकाले आफ्नो विश्वविद्यालयले उक्त पुस्तक ‘इन्डोर्स’ गरेको जानकारी दिए । ‘हामी बढीभन्दा बढी विश्वविद्यालयहरूमा यो पुस्तक पुर्‍याउनेछौँ ताकि नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकून्  जोशीले भने ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भूमिमा गरेको संघर्ष र सफलताको दस्तावेज भएको बताए । ‘नेपाली हु इज हु आजको पुस्ताको सजीव कहानी हो र नयाँ पुस्ताका लागि प्रेरणा हो उनले भने । अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालले पुस्तक तयार पार्ने क्रममा मरहट्ठाले गरेको मिहिनेत र लगावको प्रशंसा गर्दै नेपाली हु इज हुलाई अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सह्राहनीय भएको बताए । यो पुस्तक आफैँमा एक सन्दर्भ सामग्री हो’, ढकालले टिप्पणी गरे । पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमूलक कथाहरू समेटिएका छन् । लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पूरा हुन नसकेको जानकारी दिए ।

‘नेपालीको प्रगतिको कथालाई अमेरिकी मूलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरू छुटेका छन्, आगामी संस्करणमा उनीहरूलाई समेट्ने कोसिस गर्नेछु  उनले भने । पुस्तकको प्रवर्द्धनात्मक भिडियोसमेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेसनका निर्देशक तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवसायी, लेखक तथा कलाकर्मी समाजसेवी र योङ अचिभर्स गरी पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए । कार्यक्रममा महिला उद्यामी यमुना भट्टराई, अनुसुया वन्त र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए । सांग्रिला बुक अमेरिकाले वितरण गरेको पुस्तक हुइजहुनेपाली डटकममा अनलाइन किन्न सकिन्छ ।

नेपाली लेखकलाई अमेरिकी विश्वविद्यालयले होस्ट गरेको यो पहिलो पटक हो । एबीसी टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि ‘द होप’ र मिडिया इन मास’ पुस्तक लेखेका थिए । उनी मेस द म्यान एट बार्सा डकुमेन्ट्रीका निर्देशक पनि हुन् ।