कर उठाउने ढाटमा सांसदको नेतृत्वमा आगजनी, महिला प्रहरीको शरीरमा सल्कियो आगो

प्रकाशित मिति:

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा स्थानीयले आगो लगाइदिएका छन् । शुक्रबार विहान ११ बजे ३० देखि ४० जनाको संख्यामा आएको स्थानीयको समूहले टिकौलीमा रहेको सडक बोर्डको ढाटमा आगो लगाइदिएका हुन् । उनीहरुले ढाटमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले बताए । आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेको प्रहरीले जनाएको छ । खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको प्रतिक्रिया दिएका छन् ।

आगो नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक (सई) कल्पना खड्का गम्भीर घाइते भएकी छन् । सई खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम संकलन गर्ने कर्मचारी बस्ने काउन्टर जलेर पूर्णरुपमा क्षति भएको छ । स्थानीयले यसअघि नै टिकौलीबाट ढाट उठाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।