कुलमानको आक्रोशपछि सुरु भयो रोकिएको सबस्टेशनको काम

प्रकाशित मिति:

काठमाडौं – नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशनको निर्माणको काम सुचारु भएको छ । बिहीबार विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थलमा आक्रोशित मुद्रामा प्रस्तुत भएपछि रोकिएको काम सुचारु भएको छ । त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण भइरहेको सबस्टेसन नजिकै ‘दिनमै मुलुकलाई करोडौं क्षति हुन्छ, त्यसको जिम्मा कसले लिने ?’ भन्दै कुलमानले काम रोक्ने केही स्थानीयसँग आक्रोश पोखेका थिए ।

बिहीबार घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । यो सब-स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फको भागमा भइरहेको छ । तर, त्यहाँ २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४का स्थानीयले अवरोध पुर्‍याएर काम रोकेका थिए । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदै गर्दा अवरोध भएको थियो । आयोजनाले आफ्नो निर्माणस्थलतर्फ पर्खाल लगाउनुअघि नै रसुवातर्फको भागमा पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । स्थानीयको माग अनुसार नै खाल्डो खनिसकेपछि पनि १३ मिटर पछाडि सारेर पर्खाल निर्माण थालिएको थियो ।

निर्माण अगावै त्यहाँ सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फको स्थानीयले अहिले भने पटक-पटक विभिन्न माग तेस्र्याएर अवरोध पुर्‍याउँदै आएका छन् । बिहीबार घिसिङ पुग्नासाथै स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापामगरको नेतृत्वमा आएका केही रसुवाली स्थानीयले घिसिङलाई घेरा हालेका थिए। उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वरमा गर्जिएपछि कुलमान रिसाएका थिए ।

घिसिङले सब-स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरहरुको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताएका थिए । उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताएपछि शुक्रबार विहानबाट काम सुरु भएको हो । हाल पैरेबेसी पारीको रसुवाली बस्ती भूकम्प त्यसपछिको बाढी पनि जोखिमयुक्त भनेर घोषणा भएको छ । पुनर्निर्माण प्राधिकरणले तत्कालै यो बस्ती स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेको छ । तर, यही बस्तीको नाममा चिलिमे र त्रिशूली नदीका बेसिनमा निर्माण भइरहेका आयोजनाको विजुली एकीन गरी काठमाडौं ल्याउन सकिन गरी निर्माण भइरहेको सब-स्टेशनमा अवरोध भएको थियो ।

करिब ६ सय मेगावाट विजुली आपूर्ति गर्ने उद्देश्यसहित बनिरहेको सब स्टेशनको निर्माणमा ढिलाइ भए निर्माणाधीन रसुवागढी, माथिललो सान्जेन र सान्जेनको किरब २ सय मेगावाट विजुली खेर जान्छ । त्यसले प्राधिकरणलाई दिनमै करोडौं घाटा लाग्न्े भएकाले प्राधिकरणले स्थानीयको माग सुनुवाई गर्दै काम गरिरहेको छ । तर पनि विभिन्न बाहनामा अवरोध भएपछि घिसिङ बिहीबार निर्माणस्थलमा पुगेका थिए ।

कार्यकारी निर्देशक घिसिङले एकदिन पनि नरोकी यो सबस्टेशन निर्माण गर्न पहल र ताकेता गरेका छन् । स्थानीयले काममा अवरोध गरेकोबारे निर्माणस्थलबाटै घिसिङले नुवाकोट र रसुवाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । उनले यो सब स्टेशनको निर्माणको विषय संवेदनशील भएकाले यसमा एक मिनेट पनि अवरोध नहुने वातावरण बनाइदिन आग्रह गरेका थिए । त्यसेअनुरुप नुवाकोट र सुवाबाट गाएका प्रहरी तथा सशस्त्र प्रहरीले निर्माणस्थलमा सुरक्षा दिन पनि सुरु गरेका छन् ।

थप समाचार