सातवटै प्रदेशका महाधिबेशन प्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले ७ वटै प्रदेशका १४ ठाउँमा महाधिवेशन प्रतिनिधिका लागि जेठ अन्तिम सातापछि दुुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। पार्टी उपसपभापति समेत रहेका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालका अनुसार योसंगै पार्टीका क्रियाशील सदस्यका लागि एक दिने आधारभूत प्रशिक्षण कार्यक्रम समेत संचालन गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी, गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौँंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, जेठ १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा जेठ १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ।

जिल्ला तहमा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न प्रतिष्ठानका तर्फबाट प्रतिनिधि पठाउने निर्णय पनि बैठकले गरेको छ।