शताब्दी पुरुष सत्यमोहन जोशी र चिनियाँ राजदूतबीच भेट

प्रकाशित मिति:

काठमाडौँ – शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छिन् । जोशीको निजी निवास पाटनको बखुम्बहाल पुगी आज यान्छीले करीब ४५ मिनेट कुराकानी गरिन् । यान्छीले १०० वर्ष पार गर्नुभएका जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘यान्छीले जोशीलाई चीन भ्रमणका लागि प्रस्ताव गनुभएको छ’, महर्जनले भने, ‘आफ्नो स्वास्थ्य अवस्था र उमेरको ख्याल गरी जोशीले भ्रमणका लागि असमर्थता जनाउनुभएको छ ।’

जोशीले यान्छीलाई चिनियाँ साहित्यमा आफूले गरेको अध्ययन, अनुसन्धानलगायत अरनिकोको नेपाल र चीनबीच भएको सम्बन्ध र अरनिकोका बारेमा आफूले लेखेका कृतिबारे उल्लेख गरेका थिए ।

श्वेत चैत्य पुस्तक चिनियाँ भाषामा – चिनियाँ राजदूतावासले जोशीद्वरा लिखित स्वेत चैत्य पुस्तक चिनियाँ भाषामा छिट्टै अनुवाद गर्ने भएको छ । भ्रमण वर्ष–२०२० लाई ध्यानमा राखी चिनियाँ राजदूतावासले उक्त पुस्तक अनुवाद गर्न लागेको हो ।

राजदूतावासले जोशीद्वारा लिखिन ‘स्वेत चैत्य’ पुस्तक चाइनिज भाषामा अनुवाद गर्ने जानकारी दिएकोमा निकै हर्ष लागेको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । ‘नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन उक्त पुस्तकले सहयोग पुर्‍याउने छ’, महर्जनले भने, ‘मैले चिनियाँ राजदूतसँग धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउन आह्वान पनि गरेको छु ।’