विवाद समाधानको लागि मेलमिलाप महत्वपूर्ण हुने सरोकारवालाको भनाइ

प्रकाशित मिति:

विवाद समाधानको लागि र व्यवहारमै न्याय पाउनको लागि मेलमिलाप महत्वपूर्ण हुने न्याय क्षेत्रका सरोकारवालाहरुले औंल्याएका छन् ।शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासद्वारा आयोजित मेलमिलापसम्बन्धी एक दिवसीय कार्यक्रममा बोल्दै न्यायाधीश, कानून व्यवसायी, मेलमिलापकर्ता, स्थानीय न्यायिक समितिका सदस्य, अदालतका कर्मचारी, नागरिक समाजका प्रतिनिधि लगायतले यस्तो धारणा राखेका हुन् ।सो अवसरमा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीश कुमार प्रसाद पोखरेलले अदालतले कानून बमोजिम मात्रै फैसला गर्ने भएकाले फैसलाले मात्रै शान्ति हुन नसक्ने बताए ।

तर समाजका प्रतिनिधिहरुले गर्ने इन्साफ बढी व्यावहारिक हुने उनको भनाइ छ ।सो अवसरमा नेपालमा मेलमिलापसम्बन्धी कानूनी व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश रमेशकुमार खत्रीले अदालतका फैसलाले कुनै पक्षको मनको विवाद मेटन नसक्ने तर मेलमिलापबाट मनको विवाद समाधान गर्ने बताए । मेलमिलाप सम्बन्धी सैद्धान्तिक अवधारणाबारे कार्यपत्र प्रस्तुत गर्दै न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले छिटो, छरितो, सरल र कम खर्चिलो न्यायको लागि मेलमिलाप ज्यादै उपयोगी हुने बताइन् । मेलमिलापमा सरोकारवालाको भूमिकाबारे कार्यपत्र प्रस्तोता अदालतका शाखा अधिकृत सुवर्णप्रसाद खनालले मुद्दाका दुवै पक्षको भावना बुझेर गरिने मेलमिलापको परिणाम पनि राम्रो हुने गरेको बताए । अदालतका वरिष्ठ न्यायाधीश कुमारप्रसाद पोखरेलको अध्यक्षता, रजिष्ट्रार गेहेन्द्रराज पन्तको स्वागत मन्तव्य, शाखा अधिकृत सुवर्णप्रसाद खनालको सञ्चालन रहेको कार्यक्रममा न्यायाधीश दुर्गाबहादुर वि.क., रुपन्देही जिल्ला बारका सचिव तथा जिल्ला मेलमिलाप अनुगमन समितिका सदस्य रामबहादुर बस्नेत, बुटवल उपमहानगरपालिकाका मेलमिलाप संयोजक विनोदराज पौडेल लगायतले बोलेका थिए ।