नगरलाई बुद्धमय बनाउन सडकमा बुद्धमूर्ति राखिने

प्रकाशित मिति:

सिद्धार्थनगर नगरपालिकाले नगरको मुख्य सडकमा बूद्ध मूर्ति राख्ने भएको छ । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका समेत रहेको नगरलाई बुद्धमय बनाउने उद्देश्यसहित मूर्ति राख्न सुरु गरिएको छ । शुक्रबार कलात्मक धातुबाट बनेका दुई वटा बुद्ध मूर्ति राखेर बुद्धमय बनाउने अभियानको थालनी गरिएको हो । नगरपालिकाले उपभोक्ता समिति गठन गरी मूर्ति राखेको हो । समितिका अनुसार ३ लाख ७५ हजार रुपैयाँ लागतमा एउटा मूर्ति बनाएर राख्न सकिनेछ । सुरुमा दुईवटा मूर्ति राखिए पनि महिनाभित्रै १० मूर्ति राखिने छ । सीमा नाका बेलहियादेखि अंचलपुर र बुद्धचोकदेखि एअरपोर्टसम्म आउने आर्थिक वर्षभित्रै मूर्ति राखी बुद्धमय बनाइने जनाइएको छ । समितकाअनुसार पितलको धातुमा सुनको लेपन लगाएर मूर्ति बनाइएको छ । तत्काल लुम्बिनी भ्रमण वर्षको उद्घाटन र बुद्ध जयन्तीको पूर्व सन्ध्या पारेर मूर्ति अनावरण गरिएको हो । मूर्तिको शुक्रबार प्रदेश पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको विकासमा नगरपालिकाको प्रयास एउटा टेवा भएको बताउनुभयो । प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले ढिलै भए पनि नगरपालिकाले बुद्धलाई सम्झिएको बताए ।