‘घर’ को पोस्टरमा सुरक्षाको डरलाग्दो रुप

प्रकाशित मिति:

भर्सटायल अभिनेता अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक थापा स्वयंको प्रमुख भूमिका रहेको फिल्म आउँदो साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माता मध्येका एक दीपेन्द्र के. खनालले जानकारी दिएका छन् । निर्माण टिमले प्रदर्शन मितिसँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ ।

पोस्टरमा अभिनेत्री सुरक्षा पन्त मात्र फिचर्ड छिन् । उनलाई डरलाग्दो रुपमा देख्न सकिन्छ । २० दिनमा छायांकन सकिएको फिल्मलाई शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् । यसअघि उनले ‘लभ लभ लभ’ र ‘चंगा चेट’ निर्माण गरिसकेकी छन् । उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘आमा’ हो, जसलार्ई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन ।
घर’ को कथा निर्देशक थापा स्वयंको हो । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छन् । उनले यसअघि हरर जनराकै फिल्म ‘सुनकेशरी’ बनाएका थिए । नेपालमा विरलै बन्ने र चल्ने हरर जनराको फिल्ममा लगातार जोखिम मोलिरहेका अर्पणले ‘घर’ बाट निकै ठूलो आशा बोकेका छन् ।

अभिनेत्री बेनिशा हमालको पनि प्रमुख भूमिका रहेको फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनालको पनि फिल्ममा अभिनय छ । यसमा श्रीमतीको भूमिकामा छिन् ।