सन्दर्भ : २५६३औं बुद्ध जयन्ती बौद्ध ज्ञानको मुहान लुम्बिनी

प्रकाशित मिति:

फणीन्द्रकुमार न्यौपाने – वर्तमान नेपालको कपिलवस्तुस्थित तत्कालीन शाक्य गणराज्यका राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट इसापूर्व ६२३ मा बोधिसत्व सिद्धार्थको जन्म भएको थियो । सन् १८९६ मा बुद्धजन्मस्थल लुम्बिनी भएको तथ्य प्रमाणित गर्ने अशोकस्तम्भ फेलापरिसकेपछि यस सम्बन्धि विवादको सर्वथा अन्त भएको छ । विश्वको एक अर्वभन्दा बढि जनसंख्याले अवलम्बन गर्ने बुद्धधर्मका प्रणेता भगवान गौतम बुद्धको जन्म वर्तमान नेपालको लुम्बिनीमा हुनु हरेक नेपालीको निम्ति गौरवको विषय हो । तर आजको आवश्यकता हरेक नेपालीले बुद्धजन्मस्थल लुम्बिनी भएकामा गौरव गर्ने मात्र हैन बरू बुद्धका उपदेशहरूको सच्चा अनुयायी बन्नुपर्ने र बौद्ध दर्शनको गुरू राष्ट्र बन्नुपर्ने हो । किनकि लुम्बिनी बुद्धजन्मस्थल मात्र हैन बरू यो बौद्धज्ञानको मुहान पनि हो । आज नेपाल राष्ट्रले र हरेक नेपालीले मनन् गर्नुपर्ने विषय यहि हो । यस आलेखमा बौद्ध ज्ञानको मुहानको रूपमा लुम्बिनीको ऐतिहासिकतामाथी प्रकाश पार्ने प्रयास गरिएको छ ।
वर्तमान नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ राजकुमारले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे । बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञान बाँडेको स्थान वनारस एवम् उनले महापरिनिर्वाण प्राप्त गरेको स्थान कुशिनगर हाल भारतमा पर्दछन् । बुद्ध जन्मस्थल बाहेक बुद्धसंग सम्बन्धित तीनवटै स्थान भारतमा परेको हुनाले भारतलाई नै बुद्धज्ञानको भूमि भनेर प्रचार गर्ने गरिएको पाइन्छ । तर, पालि साहित्यमा वर्णन भएका बुद्धज्ञान र यसको प्रचार प्रसारमा योगदान पु¥याउने व्यक्तिहरूको भौगोलिक पृष्ठभूमिलाई हेर्दा नेपालनै बुद्धज्ञानको स्थल पनि भएको विषय स्पष्ट हुन्छ । वर्तमान नेपाल राज्य अन्तर्गत बुद्धकालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु, कोलिय वंशिय राजाहरुको राजधानी रामग्राम तथा शाक्य र कोलियहरुको आधिपत्य भएको लुम्बिनी वन पर्दछ । यी तीनै क्षेत्र बुद्धकालीन समयमा उनको ज्ञानको उदगम, विकास र विस्तारको निम्ति अत्यन्त महत्वपूर्ण भूमि बन्न सफल भएका कारण नेपाललाई बुद्ध शिक्षाको मुहान अथवा उदगमस्थल भनेर चिन्न सकिन्छ ।
पालि साहित्यमा व्याख्या भए अनुसार चार असंख्य तथा एक लाख कल्पपूर्व भगवान् बुद्ध सुमेध नाम गरेका ऋषिको रुपमा जन्मिएका थिए । उक्त समयमा दीपंकर सम्यक् सम्बुद्धबाट प्रभावित भई आफू पनि भविष्यमा सम्यक् सम्बुद्ध बन्नको लागि आवश्यक पर्ने गुणहरू (३० पारमिताहरु) पूर्ण गरी अन्तिम जन्ममा बोधिसत्व राजकुमार सिद्धार्थको रुपमा जन्मिएका थिए । आफ्नो अन्तिम जन्मको निम्ति माता पिता रोज्ने क्रममा बोधिसत्व सिद्धार्थले शाक्य गणराज्यका महाराजा शुद्धोदन एवम् महारानी मायादेवीको कोख रोजेका थिए भने जन्मभूमिको रुपमा लुम्बिनी वन रोजेका थिए । अज्ञान एवम् दुःखको रापले पिल्सिइरहेको मनुष्यलोकको लागि ज्ञान एवम् सुखशान्तिका दूत सम्यक् सम्बुद्धले आफ्नो जन्म हुँदा वर्तमान नेपाल भूमि तथा नेपाली आमा बाबु रोज्नु निश्चय नै सामान्य एवम् आकस्मिक घटना हैन ।
पूर्वजीवनहरूमा वैराग्य एवम् समाधिको प्रवल संस्कार विकास भैसकेको कारणले शिशु अवस्थादेखि नै बोधिसत्व सिद्धार्थमा तपस्वीका लक्षणहरू देखिन थालेका थिए । चार वर्षको उमेरमा आफूलाई रेखदेख गर्ने सुसारेहरू राजा शुद्धोदनले हलो जोतेको उत्सवमा मस्त भएको अवस्थामा खुल्ला जम्बु वृक्षको फेदमा सिद्धार्थ गहिरो समाधिमा गएको प्रसंग पालि साहित्यमा उल्लेख भएको पाइन्छ । सिद्धार्थले घरबार त्यागी (महाभिनिष्क्रमण) तत्कालीन समयमा प्रचलित उच्च तहका ध्यान साधनाहरूको अभ्यास गर्ने क्रममा सांख्य दर्शनका आचार्य आलारकालाम र वैशेषिक दर्शनका आचार्य उद्दकरामपुत्रबाट क्रमशः सातौँ र आठौँ तहको ध्यान भावना पूर्ण गर्दापनि आफ्ना अन्तस्करणका विकारहरू शान्त नभएको देखि आहार परित्याग गर्ने र देहदण्डनका विविध उपायहरू ६ बर्ष सम्म अपनाएका थिए । देहदण्डनद्वारा तपस्या गर्दा पनि ज्ञान लाभ नभएपछि उनले चार वर्षको उमेरमा आफूले अभ्यास गरेको स्वासप्रस्वास प्रतिको सजगता (समाधि) को अभ्यासको सहारा लिई अगाडि बढेपछि ज्ञान लाभ गर्न पुग्दछन् । यसरी बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेतापनि उक्त साधनाको आधार भने वाल्यकालमा कपिलवस्तुमा गरेको तपस्या नै थियो । यसप्रकार बोधगयाको ज्ञान वास्तवमा कपिलवस्तुमा गरिएको साधनाकै विकसित रूप थियो जसले उनलाई सम्यक् सम्बुद्ध बनायो ।

बुद्धले महाभिनिष्क्रमण गर्दा उनीसंगै ज्ञानको खोजीमा लाग्ने पाँच जना तपस्वीहरु कोण्डन्य, अस्सजी, महानाम, वप्प र भद्दिय वर्तमान नेपालस्थित कपिलवस्तुकै ब्राह्मणहरू थिए । यिनीहरूलाई पञ्चवर्गीय भिक्षु भनेर चिनिन्छ । राजकुमार सिद्धार्थ जन्मने वित्तिकै राजा शुद्धोदनले राजकुमारको जन्मकुण्डली हेर्न डाकेका ब्राह्मणहरू मध्येकै एक कोण्डन्य थिए भने बाँकी ब्राह्मणहरू जन्मकुण्डली हेर्न डाकिएका अन्य ब्राह्मणहरूका छोराहरू थिए । सिद्धार्थको कुण्डली हेर्दाबखत युवा अवस्थामा रहेका कोण्डन्यले सिद्धार्थ भविष्यमा चक्रवर्ति राजा नभई सम्यक् सम्बुद्ध बन्ने घोषण गरेका थिए । जब सिद्धार्थले दरबार छोडे, आफूपनि उन्ले पत्ता लगाउने ज्ञानको सहाराले दुखविमुक्त हुने अपेक्षाले साथै लागेका थिए । उक्त समयसम्म बाँकी ब्राह्मणहरू वृद्ध भैसकेका हुनाले उनीहरूले आ–आफ्ना पुत्रहरूलाई सिद्धार्थको बुद्धत्वबाट लाभ लिन पठाएका थिए । बोधिसत्वले महाभिनिष्क्रमण पश्चात ६ वर्षसम्म दुष्करचर्या गर्दा ज्ञानप्राप्त हुने अपेक्षाले उत्साही भएका पञ्चवर्गीय भिक्षुहरू बोधिसत्वले दुष्करचर्या छोडने वित्तिकै पथभ्रष्ट भएको भन्ने भ्रममा परी उनलाई छोडेर वनारस गएका थिए । पञ्चवर्गीय भिक्षुले छाडेपछि बोधिसत्वले युक्ताहार विहारको मध्यममार्ग अपनाई बैशाख प्रतिपदा देखि दुई हप्तासम्म आफूले वाल्यकालमा अभ्यास गरेको साधना विधि अपनाएका थिए । बैशाख पूणिमाको दिन सुजाताले दिएको खीर खाई सोत्थिय नाम गरेका ब्राह्मणले प्रदान गरेको आठ मुट्ठी कुश माथी निरञ्जना नदिको किनारमा रहेको पिपलको वृक्षमुनी आसन बनाई अधिष्ठानपूर्वक तपस्यारत रहँदा सोहि राती बोधिसत्वलाई सम्यक सम्बोधि ज्ञान प्राप्त भएको थियो । बुद्धत्व प्राप्त हुने क्रममा बोधिसत्वलाई रातको प्रथम याममा आफ्नो अनन्त पूर्वजन्मको स्मृति प्राप्त भएको थियो भने दोस्रो याममा उत्पत्ति विनास धर्मको ज्ञान प्राप्त भएको थियो । रातको तेस्रो याममा कार्यकारण सम्बन्धको ज्ञान प्राप्त भई सम्पूर्ण भवबन्धनबाट उन्मुक्ति मिलेको थियो । बुद्धले बोधी ज्ञान प्राप्त गरेको आधारमा उक्त स्थानलाई आज बोधगया भनिन्छ भने उक्त वृक्षलाई बोधिवृक्ष भनिन्छ ।
बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि सर्वप्रथम यिनै पञ्चवर्गीय भिक्षुलाई वर्तमान वनारसस्थित मृगदा वनमा जीवन र जगत्को शाश्वत ज्ञान बाँडेका थिए । सार्वजनीन एवम् सर्वकालीक सत्य जस्तै दुः ख, दुःखको कारण, दुःखको निवारण र दुःख निवारणको उपायको ज्ञानलाई चार आर्यसत्य भनिन्छ जुन बुद्धज्ञानको चुरो कुरा हो । यी सत्यहरूलाई ज्ञान, ज्ञानको अनुभूति र उक्त अनुभूतिबाट सम्पूर्ण क्लेशक्षय हुँदाको अवस्थासम्म तीनै तहमा परिपूर्णरूपमा भावीत गराउनुनै बुद्धज्ञानको महानता हो । यसरी चतुरआर्यसत्यलाई परिपूर्णरूपमा तीनै तहमा भावीत गरेका पञ्चवर्गीय भिक्षुहरू तत्काल सम्पूर्ण क्लेशहरूबाट मुक्त हुनपुगेका थिए । पञ्चवर्गीय भिक्षुहरूलाई सर्वप्रथम ज्ञानको देशना गरिएको घटनालाई धर्मचक्रप्रवर्तन भनिन्छ । आफ्नो देशनामा भगवान् बुद्धले मानिसले जन्मसँगै अपरिहार्य लिएर आउने विभिन्न प्रकारका दुःखहरू जस्तै वृद्धावस्था, मृत्यु, शारीरिक मानसिक पीडाहरु, शोक, दौर्मनस्यता, प्रियसँगको विछोड, अप्रियसँगको संयोग जस्ता दुःखहरूको वैज्ञानिक विश्लेषण गर्दै यस्ता दुःखहरूको पछाडिको मूलकारण तृष्णा र यस प्रतिको अविच्छिन्न आशक्तिभाव भएको तथ्य उजागर गरे । अविद्या वा वेहोसीको कारण तृष्णा उत्पन्न हुने भन्दै उक्त तृष्णाको मूल अविद्या वा वेहोसीलाई नाश गर्नु नै दुःख मुक्तिको बाटो भएको तथ्य प्रकाश पारे । बुद्धले अतिभोगविलास (कामेसुकामसुखल्लिकानुयोगो) र अतिदुष्करचर्याको बाटो (अत्तकिलमथानुयोगो) त्यागी मध्यमार्ग अँगाल्नुपर्ने शिक्षा दिए ।

भगवान् बुद्धको ज्ञान प्राप्त गर्नमा मात्र नभई यसको प्रसार एवम् वृद्धि गर्नमा यी पञ्चवर्गीय भिक्षुहरूको महत्वपूर्ण योगदान रहेको छ । पञ्चवर्गीय भिक्षुहरूमा कोण्डन्य त्यस्ता भिक्षु हुन् जसले सिद्धार्थ जन्मने वित्तिकै उनको शरिर लक्षणको आधारमा उनी सम्यक् सम्बुद्ध बन्ने भविष्यवाणी गरेका थिए । कौण्डन्य भिक्षु जीवन हासिल गर्ने एवं बुद्धज्ञान हासिल गरी अर्हत् हुने प्रथम व्यक्ति हुन् । भगवान् बुद्धद्वारा देशित धर्मको सही र सटिक व्याख्याकार अस्सजीलाई मानिन्छ । उनले भगवान् बुद्धका ज्ञानका द्वारपाल भनी भविष्यमा चिनिने सारीपुत्र र महामौदगल्यायनलाई भगवान् बुद्धको ज्ञानको सार बताएका थिए । बुद्धज्ञानलाई उनले ‘ये धम्मा हेतुप्पभवा, तेसं हेतुं आह…तेसञ्च यो निरोधो’ अर्थात् संसारका हरेक विषय निश्चित कारणबाट उत्पन्न हुन्छन् र यिनीहरु निरोध धर्मवाला हुन्छन् जुन सत्यको ज्ञान नै बुद्ध देशना गर्नुहुन्छ भनेर व्याख्या गरेका छन् ।
भगवान् बुद्धको ज्ञान फैलाउन मात्र हैन उक्त ज्ञानमा सर्वश्रेष्ठता हासिल गर्न पनि वर्तमान नेपाल भूमि अन्तर्गत कपिलवस्तु र देवदहका राजकुमारहरूको उल्लेखनीय योगदान रहेको पालि साहित्यमा वर्णित छ । बोधिलाभ भएको एक वर्षपछि कपिलवस्तु आएका बुद्धबाट प्रभावित भई शाक्य एवम् कोलिय वंशका राजकुमारहरू भद्दिय, अनुरुद्ध, आनन्द, भृगु, किम्मिल एवम् देवदत्त तथा यिनै राजकुमारहरूको केश काटी जीविका चलाउने उपालि बुद्धधर्ममा दीक्षित भएका थिए । धर्मप्रवेश पश्चात् बुद्ध धर्ममा श्रेष्ठता हासिल गरेका यिनीहरूले नै बुद्धको महापरिनिर्वाण पछि ३ महिनामा भएको प्रथम संगीतिमा महत्वपूर्ण योगदान दिएका थिए । भगवान् बुद्धका निजी सेवक भएका आनन्दले बुद्धले ४५ वर्षसम्म देशना गरेको धर्मलाई प्रथम संगायनमा वाचन गरेका थिए भने उपालिले भिक्षु तथा भिक्ष्ुाणीहरूले पालन गर्नुपर्ने नियमहरूको प्रकाश पारेका थिए । यसैगरी बौद्ध संघमा महिला प्रवेशको शुभारम्भ पनि कपिलवस्तुका महिलारुबाटै भएको पाइन्छ । भगवान् बुद्धले महिलाहरूलाई पनि पुरुष सरह लोककल्याणकारी धर्मको अभ्यास गर्ने अवसर र प्रेरणा दिनुभएको छ । जसको फलस्वरुप आज संसारभरि बौद्ध ज्ञान र अभ्यासको क्षेत्रमा भिक्षु सरह भिक्षुणीहरू पनि सकृय भएको देखिन्छ । यस प्रसँगमा कपिलवस्तुका ५०० राजकुमारीहरू सहित बुद्धसंघमा बुद्धकी कान्छी आमा महाप्रजापति गौतमी, सिद्धार्थ पत्नी यशोधरा प्रवेश गरेको घटनालाई अनुपम मानिन्छ ।
नेपाल शाक्यमुनि बुद्धको ज्ञानभूमि, उनी अगाडिका कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थल एवम् ज्ञानभूमि पनि हो । शाक्यमुनि बुद्ध महापरिनिर्वाणको अढाइ शताब्दीपछि नेपाल आएका तत्कालीन सम्राट् अशोकले बुद्धजन्मस्थल लुम्बिनीका साथै कपिलवस्तुको गोटीहवामा क्रकुच्छन्द र निग्लिहवामा कनकमुनि बुद्धको जन्मस्थल भएको भनी शिलास्तम्भ राख्न लगाएबाट यो तथ्यको पुष्टि भएको छ । शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि उनको अस्थिधातुलाई आठ भागमा विभाजन गरी तत्कालीन समयका आठ राजाहरुलाई बाँडिएको थियो । ती राजाहरुले बुद्धको अस्थिधातु राखि स्तुपहरू निर्माण गरेका थिए । सम्राट अशोकले पछि ती स्तुपहरुबाट अस्थिधातु झिकी ८४ हजार स्तुपहरु निर्माण गरेका थिए । तर वर्तमान नेपालको रामग्राममा भएको स्तुपलाई तत्कालीन नागराजाहरूले संरक्षण गरेका कारण उनले चलाउन नसकेको प्रसंग बौद्ध साहित्यहरुमा पाइन्छ ।

वर्तमान नेपाल भूमि अन्तर्गतका लुम्बिनी, कपिलवस्तु र देवदह क्षेत्रको बुद्धज्ञानको उत्पत्ति, विकास एवम् संरक्षणमा अत्यन्त महत्वपूर्ण भूमिका भएको तथ्यको आधारमा नेपाललाई बुद्धजन्मभूमिको अलावा ज्ञानभूमिको रूपमा पनि बुझ्नु जरूरी छ । अवकोे नेपाल र नेपालीको आवश्यकता लुम्बनी बुद्धजन्मस्थल भएकामा गौरव गर्ने मात्र हैन बरू बुद्धज्ञानकोे सच्चा अनुयायी बन्नुपर्ने चाहिँ हो । लुम्बिनी बुद्धजन्मस्थल मात्र नभएर बुद्धज्ञानको पनि मुहान भएकाले नेपाललाई बौद्ध दर्शनको गुरू राष्ट्र बनाउनु समयको माग हो । आज नेपाल राष्ट्रले र हरेक नेपालीले मनन् गर्नुपर्ने विषय यहि हो ।
– लेखक क्याम्पस प्रमुख, लुम्बिनी बौद्ध विश्वविद्यालय  केन्द्रीय क्याम्पस, लुम्बिनी