बौद्धको आकर्षण तेमालजात्रा

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
197 Shares


• राजेन्द्र दाहाल – विक्रम संवत् सुरुवात हुनुभन्दा ४८७ वर्ष पहिले कपिलवस्तुको शाक्यकुलका उत्तराधिकारीको रूपमा लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतमले तत्कालीन समाजमा व्याप्त विकृति, विसङ्गति र युद्धविरुद्धको सङ्घर्षमा होमिएर समाजलाई समस्यामुक्त गराउन जुन सिद्धान्तको प्रतिपादन गर्नुभयो कालान्तरमा त्यही सिद्धान्तले धर्मको स्वरूप ग्रहण गरेपछि बौद्ध धर्मको अस्तित्व देखाप¥यो । यसरी सिद्धार्थ गौतम, गौतम बुद्धको रूपमा परिचित हुनुभयो । बुद्धको जीवनसँग जोडिएका स्थान र घटनाले बौद्ध तीर्थस्थल र धार्मिक पर्वको मान्यता प्राप्त गर्दै गए । बुद्धको जीवनसँग जोडिएका स्थलहरू– लुम्बिनी, कपिलवस्तु, रामग्राम, बोधगया, सारनाथ, कुशीनगर लगायत उहाँको सम्झनामा निर्माण भएका स्तुप, चैत्य, छोर्तेन, गुम्बा र विहारहरू बौद्ध तीर्थस्थल बने । यसै सिलसिलामा निर्माण भएको मानिएको बौद्धनाथ स्तुप बौद्धधर्मको एक महŒवपूर्ण प्राचीन तीर्थस्थल बन्न सफल भएको छ ।

बौद्धनाथप्रति बौद्ध धर्मावलम्बीको अपार आस्था छ । हिन्दूले पनि बौद्धनाथप्रति श्रद्धा व्यक्त गर्दै पूजाआजा र दर्शन गर्ने गर्छन् । बुद्ध जयन्तीका दिन बौद्धनाथ स्तुपमा श्रद्धालु भक्तजनको विशेष भीड लाग्ने गर्दछ । बौद्ध महास्तुपको महिमा अपरम्पार छ । यस महास्तुपलाई चिन्तामणिको प्रतीक मानिन्छ । जसको सामुमा शुद्ध चित्तले प्रार्थना गर्नाले मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास पाइन्छ । यस महास्तुपको दर्शन मात्र गर्ने प्राणीले पुनर्जन्म लिनुपर्ने छैन । जसले यस स्तुपको बारेमा महिमा सुन्छ, त्यही सुनेकै भरमा पनि उसले आफ्नो चित्त सन्ततिमा बोधिचित्तको बीज उत्पन्न गरेको हुन्छ । आदर स्वरूप दुवै अँजुली बाँधेर नमस्कार गर्नेहरू सबै सत्मार्गमा लाग्नेछन् । ज–जसले यस महास्तुपसमक्ष अध्येषणा गर्दछन्, उनीहरूका दुई वटा स्वार्थ– प्रज्ञा र उपाय परिश्रम विना नै सिद्ध हुनेछन् ।
ज–जसले यस महास्तुपमा पुष्प चढाउँछन्, उनीहरूले सत्धर्म अभ्यासका लागि उपयुक्त ऐश्वर्य र वैभवले परिपूर्ण दुर्लभ मनुष्य शरीर पाउने निश्चित छ । धूप चढाउने सबैले विशुद्ध शील प्राप्त गर्ने निश्चित छ । घ्यू–बत्ती (छ्योइमे) चढाउनेको अज्ञानरूपी अन्धकार नाश भएर जानेछ । जल चढाउने सबैले सबै प्रकारका मानसिक अशान्ति र पीडाबाट छुट्कारा पाउनेछन् । मण्डल चढाउनेले पुण्य सम्भार र ज्ञान सम्भार गर्दै सांवृतिक र परमार्थ लक्ष्यहरू प्राप्त गर्नेछन् । यस महास्तुपको वरिपरि प्रदक्षिणा गर्ने सबैले उच्च गति, सुगतिका सात गुणहरू प्राप्त गर्नेछन् ।

यस स्तुपको जीर्णोद्धार गर्नेहरूको आफूले चिताएको मनोकाङ्क्षा पूरा हुने मात्र नभई अनुत्तर बोधिलाभ गर्नेछन् । स्तुपमा रङ पोतेर जीर्णोद्धार गर्नेहरू चक्रवर्ती राजा भएर जन्मिनेछन् र त्यस रङमा प्रयोग भएका चूनका कण बराबर अनेकौँ लोकधातुमा राज गर्नेछन् । स्तुपका लागि काय, वाक् र चित्तले कर्ममा लाग्ने सबैले बुद्धको काय, वाक्, चित्त आफ्नै काय, वाक् र चित्तमा विलीन भएको अनुभूति गर्नेछन् । स्तुपमा सुप्रतिष्ठा, मन्त्रजप गर्ने व्यक्तिका लागि युद्ध, अनिकाल, महामारी सबै हटेर जानेछ र शान्ति र खुसी फैलिनेछ । यस महास्तुपमा सानो–ठूलो जस्तोसुकै सिद्धि लाभ गराउने र जस्तोसुकै प्रार्थनाको पनि जवाफ दिने प्रबल शक्ति निहित छ । त्यस कारणले यस स्तुपलाई सबै प्रार्थना पूरा गरिदिने स्तुप भनेर पनि चिनिन्छ ।  यस महास्तुपलाई हानि–नोक्सानी गर्ने व्यक्ति यस जुनीमा सबैखालका अकुशल कर्मको पात्र बन्नेछ भने अर्को जुनीमा ऊ अविचि नरकमा पतन हुनेछ । अविचि नरकमा परेपछि त्यहाँबाट उम्कने कुनै सम्भावना हुँदैन र त्यहाँ पु¥याउने कर्मको पश्चात्तापसम्म पनि गर्न सकिँंदैन भनेर ‘पेमा कथाङ’ नामक बौद्धग्रन्थमा उल्लेख भएको पाइन्छ । त्यसैले बौद्धक्षेत्र बौद्धधर्मको पवित्रस्थलसहितको तीर्थस्थलका रूपमा बौद्ध धर्मावलम्बीमाझ पवित्र र प्रसिद्ध छ ।

बौद्धक्षेत्रमा पुरातात्विक महŒवका प्राचीन सम्पदा मात्र होइन, पछिल्लो समय बनेका बुद्धका मूर्ति, कला र अमूर्त कला एवं सांस्कृतिक सम्पदा पनि प्रशस्तै पाइन्छन् । बौद्धस्तुप बौद्ध धर्मको सबैभन्दा सुन्दरतम आकर्षण हो । बौद्ध स्तुपमा एक हजार बुद्ध र स्वर्गका देवताहरू लामाका रूपमा आएको विश्वासका कारण बौद्ध धर्मावलम्बीको मुख्य धाम (तीर्थस्थल) बनेको छ । यहाँ हरेक १२ वर्षमा छ्योर्तेनको गुम्बामा पानी भरिन्छ । त्यहाँ हजारौँ तोला सुनको जलप लगाइएको छ । १८ औँ शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरी बौद्ध छ्योर्तेनको रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गरेको थियो । उनै लामाका सन्तानलाई अझैसम्म ‘चिनियाँ लामा’ भन्ने गरिन्छ । छ्योर्तेनको गुठी र छ्योर्तेन उनै लामाको नेतृत्वमा सञ्चालन हुँदै आइरहेको छ । त्यही बेलादेखि बौद्ध र चीनको साइनो प्रगाढ बन्दै आएको हो ।

बौद्धक्षेत्रको सांस्कृतिक आकर्षणको महŒवपूर्ण पाटो भनेको ‘तेमालजात्रा’ हो । बौद्धधर्म सम्प्रदायमा प्रचलित किम्वदन्ती अनुसार सत्ययुगमा काठमाडौँ उपत्यका दहको रूपमा रहेको समयमा बन्धुमती नगरबाट विपश्वी बुद्ध यहाँ आर्ई नागार्जुन डाँडामा बसेर साधना गर्नुभयो । उहाँले आफ्नो सिद्धि शक्तिले चैत्र पूर्णिमाका दिनमा दहमा एक कमलको बीज रोप्नुभयो र सोही बीजबाट कमलको फूल उत्पत्ति भयो । आश्विन शुक्ल पूर्णिमाका दिन सो कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भयो । त्यो अलौकिक ज्योति दर्शन गर्न विभिन्न कालमा शिखी बुद्ध, विपश्वी बुद्ध, क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र काश्यप बुद्ध स्वयम्भूमा आउनुभएको थियो । विश्वभू बुद्धको समयमा महाचीनबाट बोधिसत्व मञ्जुश्री आफ्ना शिष्यसहित स्वयम्भूको अलौकिक ज्योतिको दर्शन गर्न आउनुभयो । उहाँले आफ्नो धारिलो खड्गले चोभारको डाँडो काटी नागदहको पानी बाहिर पठाउनुभयो । पानी बाहिर गएपछि त्यहाँ अलौकिक स्वयम्भू चैत्य देखियो । बौद्ध क्रियाकलाप विस्तारको क्रममा काश्यप बुद्धले स्वयम्भूको दर्शन गरी फर्केपछि तत्कालीन गौँडाका राजा प्रचण्डदेवलाई स्वयम्भूको महिमाबारे बताएपछि उनी अत्यन्त प्रभावित भई स्वयम्भूको दर्शन गर्न आएथे । त्यसपछि उनी आचार्य गुणाकरका शिष्य भए । उनैले आचार्य गुणाकरको अनुमति लिएर स्फटिकस्वरूप अलौकिक स्वयम्भू चैत्यको संरक्षणार्थ यसलाई गर्भभित्र राखे । यसरी विपश्वी बुद्धले कमलका बीज रोपेको स्मरण गर्दै हरेक वर्ष चैत्र पूर्णिमाका दिन स्वयम्भू चैत्यमा ठूलो जात्रा लाग्न थाल्यो र यसलाई ‘तेमालजात्रा’ भनियो । यसको व्यापकता भने स्वयम्भू र बौद्ध स्तुपको निर्माणपछि मात्रै बढेर गएकोे मानिन्छ ।

तामाङहरूको सांस्कृतिक, ऐतिहासिक उद्गमथलो तेमालका अन्तिम तामाङ राजा रिन्जिन दोर्जे बलले वि.सं. १८१९ चैत्र पूर्णिमामा बौद्ध स्तुपको जीर्णोद्धार कार्य सम्पन्न भएको खुसियालीमा यस महास्तुपमा विशेष पूजाआजासहित उत्सव मनाउन सुरु गरेको र हरेक वर्ष जात्रा सम्पन्न गर्न जात्रामा स्वयं उपस्थित हुने र आफ्ना जनतासँगै सहभागी भई राजकीय चाडको रूपमा उनैले निरन्तरता दिएको हो भनिन्छ । यसैको निरन्तरतामा ‘तेमालजात्रा’ चलेको भन्ने भनाइ पनि पाइन्छ । यस जात्रामा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुप र भोलिपल्ट बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तुपमा हजारौँ भक्तजनको सहभागिता देखिन्छ ।
जात्राको पहिलो दिन बौद्धमा मृतकहरूको आत्माको शान्तिको लागि बत्ती बाल्ने, लामा पुरोहितबाट पूजापाठ, मोलम गर्ने गरिन्छ । पितृ मोक्षका लागि बत्ती बाल्नेहरू रातभर जाग्राम बस्छन् । भोलिपल्ट बिहानै बाइसधारा स्नानपछि स्वयम्भूमा पुगी जात्रा सकिने परम्परा छ । रातभर जाग्राम बस्दा तामाङहरू मौलिक फापरे र सेलो गीत गाउने गर्दछन् । यसरी मायाप्रीतिका गीत गाउँदै स्वयम्भूमा पुगेर जात्रा समापन हुन्छ ।  तेमालजात्राको धार्मिक महŒव ठूलो छ । यस दिन आफ्ना पितृको स्मरणमा बत्ती बाल्दै ङोवा–मोन्लम् (सम्पूर्ण प्राणीको सुख–शान्ति र मुक्ति प्रार्थना) गर्नाले अर्को जुनीमा सुखावती भुवनमा जन्मिन्छन् भन्ने धार्मिक विश्वास पाइन्छ । साथै उक्त पुण्य दिनमा बौद्ध तथा स्वयम्भूमा बत्ती बाली पूजाआजा गर्नाले मृतकका आफन्तजनको समेत मनोकाङ्क्षा पूर्ण हुने र दीर्घायु प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ ।

पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीनकालदेखि अहिलेसम्म निरन्तरता दिएको प्रष्ट देखिन्छ ।
तेमालजात्रा तामाङ समुदायको विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको एउटा प्रमुख पर्व हो । यो तामाङ संस्कृतिको अभिन्न अङ्गका रूपमा छ । तेमालजात्रामा काभ्रे जिल्लास्थित तेमाल क्षेत्रका तामाङहरू आफ्ना दिवंगतहरूको आत्माको चिरशान्तिका निम्ति बौद्ध महाचैत्यमा आई विशेष पूजाआजा गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम ‘तेमालजात्रा’ रहन गएको हो । तेमालमा बसोवास गर्ने तामाङहरू यसलाई बौद्धको जात्रा पनि भन्ने गर्दछन् । हाल यस जात्रामा तेमालका तामाङलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंँ उपत्यकाका विभिन्न स्थानबाट तामाङहरूको व्यापक सहभागिता रहने गर्दछ । प्रत्येक वर्ष चैत पूर्णिमाको एकदिन अगाडि बौद्ध महाचैत्यमा पितृ मोक्षका निम्ति बत्ती बाल्दै चैत पूर्णिमाका दिन बालाजु बाइसधारामा स्नान गर्दै स्वयम्भू महाचैत्यमा पुगेर पूजाआजा गरी तेमालजात्राको विसर्जन हुने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया