प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने

प्रकाशित मिति:

काठमाडौं – प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि विभिन्न प्रदेशस्तरको चाडवाडमा प्रदेश सरकारले बिदा घोषणा गर्दा सरकारको कार्यालय बिदा भएको थिएन । बिदा नहुँदा अन्योल उत्पन्न भएपछि गृह मन्त्रालयले प्रदेश स्तरमा ६ दिन बिदा दिँदा सरकारको कार्यालयसमेत बिदा दिने निर्णय भएको हो ।

थप्नुपरे संघीय सरकारसँग स्वीकृति लिनुपर्ने राजपत्रको सूचनामा आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा गृह मन्त्रालयको निर्णयअनुसार हुने उल्लेख छ । प्रदेश सरकारले बढीमा ६ दिन बिदा दिने निर्णय गरेतापनि उपत्यकाका काठमाडांै, भक्तपुर र ललितपुरका सरकारका कार्यालयको हकमा सो बिदा लागु हुनेछैन । तीन जिल्लाको बिदाको व्यवस्था गृह मन्त्रालयको निर्णयबमोजिम हुने राजपत्रमा उल्लेख छ ।

सूचनामा प्रदेश सरकारले घोषणा गर्ने बिदाको विषयमा प्रदेश सरकारले वर्षको सुरुमै प्रदेश राजपत्र प्रकाशित गरी बिदाको निर्णय गर्नुपर्ने व्यवस्था गरेको छ । राजपत्रमा स्थानीय सरकारले दिने बिदाको विषयमा निर्णय गर्नसकेको छैन । सरकारले यो वर्ष अधिकांश बिदा कटौती गरेपछि प्रदेश सरकार आफैंले विभिन्न जनजाति र स्थानीय बिदा दिँदै आएको छ । प्रदेश सरकारले बिदा दिने व्यवस्था मिल्ने गरी कटौती गरेको थियो । सरकारले पर्व, महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दशैँ, तिहार, दिवस, दिवस जयन्ती र सट्टा गरी विभिन्न शीर्षकका बिदाको व्यवस्था गरेको थियो ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइनेछ । किराँत, राई याख्था, सुनुवार, लिम्बु जातिका उभौली, गौरा पर्व, इदका अवसरमा बिदा दिने निर्णय गरेको थियो । छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे, तमु ल्होसार, माघे सक्राङ्न्ति (माघी), सोनाम ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ ।

काठमाडाँै उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा दिइनेछ । गाईजात्रा, इन्द्रजात्रा, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (जात्रा देखाउने दिन) र घोडेजात्राको दिन सार्वजनिक बिदा दिइनेछ । यसैगरी दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, संविधान दिवस, अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ ।