गलत ढङ्गले कुनै सदस्य छिराउने र पैसा तिर्ने गरेको भेटिएन : छानबिन समिति

प्रकाशित मिति:

अमेरिका – एनआरएनए अमेरिका अध्यक्षका प्रत्यासी तिनै जनाका प्रतिनिधि सम्मिलित छानबिन समितिले गलत ढङ्गले कुनै सदस्य छिराउने, विवरण राख्ने र पैसा तिर्ने काम कहीँ कतैबाट नभएको जनाएको छ । शुक्रवार राती एनआरएनए अमेरिकाका संयोजक गौरि जोशीले प्रतिवेदन बुझ्दै भने “कुनै फल्स इन्ट्रि र फल्स पेमेन्ट देखिएन , नम्बरमा फरक आएन । निर्वाचनमा जान अव केही फरक भएन । निर्वाचनमा अध्यक्षका उम्मेदवारहरूलाई सहमतिमा ल्याएर निर्वाचन हुन्छ ।”

छानबिन समितिले ड्यासबोर्ड बनाएर काम थाल्नु अगाडि सदस्य बनेका र लाइफ मेम्बरहरू नदेखिएको तर गलत ढङ्गबाट कुनै पनि सदस्य नबनेकाले निर्वाचनमा जान छेकबार नलाग्ने जोशीले प्रस्ट गरे । जोशीले भने “एक हजार लाइफमेम्वर छन् उनीहरूको भेरिफाइ गर्नु पर्दैन । छानबिन समितिले ड्यासबोर्ड बनाएर काम गर्नु अगाडिका मेम्बर समेत गरेर डयासबोर्डमा २०९३ भेरिफाइड कसले गरे भने नदेखिएको मात्र हो ।”

आरसी जोशीले शुक्रवार राती नै अध्यक्षका तीनै जना उम्मेदवारहरूसँग कुरा गरेर निर्वाचनमा सबैको सहभागिता गराउन प्रयास गर्ने बताएका छन् । डाटा भेरिफिकेशन समितिमा विनय अर्याल, पदम भण्डारी, दिनेश शर्मा, विजय भट्टराई र ओम भट्टराई सम्मिलित रहेका थिए । पाँचै जनाले निर्वाचनमा जान रोकिनु पर्ने कुनै ठुलो कारण नभेटिएको बताए । पत्रकार सम्मेलनमा आरसी जोशी, एनआरएनए आइसीसीक सल्लाहकार हरिबोल भण्डारी, एनआरएनए अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारी सहभागी रहेका थिए । निर्वाचन प्रक्रिया सुरु हुन अव केही घण्टा मात्र बाकी छ ।