सात करोड राजस्व हिनामिना गरेर मालपोतका नासु फरार, तीन मुद्दा दर्ता

प्रकाशित मिति:

काठमाडौं – सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् ।

मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए । सिमराअघि गुप्ता कलैया मालपोतमा कार्यरत थिए । त्यहाँ नक्कली रसिद बनाएर दुई करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ राजस्व हिनामिना गरेका थिए । सक्कली रसिदबाटै संकलन गरिएको राजस्वसमेत व्यक्तिगत खातामा जम्मा गरेका थिए । २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्म उठाइएको राजस्व हिनामिना गरेको खुलेको छ ।

सिमरा मालपोत अनियमिततामा लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । यस्तै कलैया मालपोतका तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदीविरुद्ध समेत मुद्दा दायर भएको छ । महालेखापरीक्षक कार्यालयका कर्मचारी तथा कोष तथा लेखानियन्त्रण कार्यालयका कर्मचारीको समेत मिलेमतो भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कोष तथा लेखानियन्त्रक कार्यालय बाराका लेखापालद्वय प्रवीण गौतम र कमल खतिवडा तथा महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक अजयकुमार सापकोटाविरुद्धसमेत मुद्दा दायर भएको छ । उनीहरूले भ्रष्टाचार लुकाउन सहयोग गरेको अख्तियारको आरोप छ ।

नासु गुप्ताले आफ्ना अनियमितता लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास पनि गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसमेत महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए । गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो । सरकारी कागज नष्ट गर्न खोजेको अभियोगमा उनीविरुद्ध तेस्रो मुद्दासमेत दायर भएको छ । अनियमितता गरेर भाग्ने उद्देश्यले नै उनले राजस्व हिनामिना गरेका थिए । यसरी कमाएको धेरै रकम उनले मोजमस्तीमा उडाएका छन् । यसअघि यातायात कार्यालय इटहरीका नासु सुरेश अधिकारीले यसैगरी सरकारी राजस्व व्यक्तिगत खातामा जम्मा गरेर ६१ करोड अनियमितता गरेका थिए । निगरानीको बलियो संयन्त्र नहुँदा कर्मचारीबाटै करोडौँ राजस्व सजिलै हिनामिना हुन थालेको अख्तियारका कर्मचारीहरू बताउँछन् ।

थप समाचार