यार्सागुम्बा संकलन शुरू हुँदै, संकलकको बीमा गरिने

प्रकाशित मिति:

दार्चुला – जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन शुरू गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा संकलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट संकलन शुरू गरिने भएको हो ।

यार्सागुम्बा संकलनका लागि यो वर्ष परिचयत्र अनिवार्य गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्लाका विभिन्न सेक्टर, रेन्जपोष्ट लगायतबाट परिचयपत्र वितरण शुरू गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । निर्देशिकाले संकलकका लागि नागरिकता अनिवार्य गरेको छ । सोहि निर्देशिकाको आधारमा परिचय पत्र जारी गरिने बताइएको छ ।

निर्देशिकामा यार्सागुम्बा टिप्न संरक्षित क्षेत्रभित्रका जनतालाई पाँच सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई एक हजार र जिल्ला बाहिरका व्यक्तिलाई दुई हजार राजस्व तोकिएको छ । जिल्लाका हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोतको रुपमा रहेको बहुमूल्य यार्सागुम्बा संकलन कार्यलाई यो वर्ष थप व्यवस्थित बनाउने गरी काम भइरहेको प्रमुख मेहताले बताए ।

परिचय पत्र लिएर यार्सागुम्बा संकलन गर्न जाने संकलकको यो वर्षबाट पहिलो पटक बीमा गर्न शुरू गरिएको छ । यो वर्ष यार्सा संकलनको अवधिमा १० जना सर्वसाधारण संकलक, १० जना कर्मचारी र सुरक्षाकर्मीको बीमाको व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत मेहताले जानकारी दिए । बीमा २० लाख बराबरको हुनेछ ।