पारिवारिक र नातेदारहरुको जम्बो टोली लिएर पूर्वराजा थाइल्याण्ड घुम्न जाँदै

प्रकाशित मिति:

काठमाडौं – निकट भविष्यमै पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व राजपरिवारका सदस्य र नातेदारहरुको जम्बो टोली लिएर विदेश भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाह परिवार र नातेदारको जम्बो टोलीका साथ विश्वका राजतन्त्रात्मक मुलुकमध्येमा गनिने दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको भ्रमणमा जान लागेका हुन्।

‘छोरा पूर्व युवराज पारश र आमा रत्न बाहेक पूर्वराजपरिवार एवं शाही नातेदारहरुको ठूलो टोली थाइल्याण्ड भ्रमण जाने तयारीमा छ’ स्रोतले भन्यो।९१ बर्ष लागिसकेकी पूर्व मुमा बडामहारानी शारीरिक अवस्थाका कारण पूर्व शाही परिवारसँगै विदेश भ्रमण गर्न सक्ने स्थितिमा छैनन् भने लागू औषध सम्बन्धी मुद्दाका कारण पारश त्यहाँ जान सक्दैनन्।

६ बर्षअघि थाइल्याण्डमा प्रेमिका कन्निका चाइसर्नसँगै रहँदा गाँजासहित पक्राउ परेका पारश त्यसपछि नेपाल फर्केका थिए। त्यसयता उनी थाइल्याण्ड फर्केका छैनन्। तर, पारश पत्नी हिमानी भने दुई छोरी पूर्णिका र कृतिकलाई पढाउनका लागि विगत केही समययता थाइल्याण्डमा नै बस्दै आएकी छन्। स्रोतका भनाईमा, पूर्व राजपरिवारले राजधानी व्याङ्ककमा एउटा फ्ल्याट पनि खरिद गरेको छ। हिमानी त्यहीँ बसेर अध्ययनरत छोरीहरुको लालनपालन गरिरहेकी छन्। ‘मिति यकिन छैन, तर ठूलो टोली उता जाने तयारी छ’ निर्मल निवास स्रोतले भन्यो, ‘लामै समय उता बिताउने तयारी पूर्व राजपरिवारले गरेको छ।’

यो भ्रमण दलमा पूर्वराजा ज्ञानेन्द्र र पूर्व बडामहारानी कोमल, हिमानी शाह र तीन छोराछोरी, पूर्व राजाकी शाहकी छोरी प्रेरणा सिँह र उनका छोरा सहभागी हुनेछन्। यसैगरी दरवार हत्याकाण्डमा ज्यान गुमाएका पूर्व अधिराजकुमार धीरेन्द्र शाहका तीन छोरीहरु पूजा सिँह, शीताष्मा सिँह र दीलाशा राणा हुनेछन्। यसैगरी पूर्वराजा शाहका बहिनी–ज्वाइँ शोभा शाही र मोहनबहादुर शाही पनि रहने स्रोतले दावी गरेको छ। यस्ता भ्रमणहरुमा पछिल्लो समय पूर्वराजपरिवार र नातेदारको ठूलो समूह सहभागी हुने गरेको छ। पूर्वराजाको यसअघिको नेपालगञ्ज र पोखरा भ्रमणमा पनि पारिवारिक सदस्यका साथै नातेदारहरु सहभागी थिए।