अनशनरत अस्थायी शिक्षकलाई प्रहरीले रत्नपार्कबाट हटायो

प्रकाशित मिति:

काठमाडौं –  रत्नपार्कस्थित शान्ति वाटिकामा आमरण अनशनरत सामुदायिक विद्यालयका शिक्षकलाई प्रहरीले हटाएको छ। प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै अनशनरत पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत प्रहरीले शनिबार हटाएको हो। अनशनरत स्थानबाट उठाएर उनीहरुलाई वीर अस्पतालमा उपचारको लागि भर्ना गरिएको महानगरिय प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायव उपरिक्षक (डिएसपि) विनोद घिमीरेले बताए। उनीहरु वैशाख २० गतेदेखि अनशन बसेका थिए।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन शिक्षक सेवा आयोगले गत वर्ष नै परीक्षा सञ्चालन गरेर नतिजा समेत सार्वजनिक गरिसकेको छ। विगतको आन्तरिक प्रतिस्पर्धा सम्बन्धी परीक्षामा सहभागी हुन नपाएकाका लागि फेरि परीक्षा सञ्चालन गर्नुपर्ने माग उनीहरुले सरकारसँग राखेका छन्। अनशनमा बसेको लामो समय वितिसक्दा पनि माग पुरा गर्ने सम्बन्धमा कसैले पनि चासो दिएको छैन। उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा शिक्षा मन्त्रालयका अधिकारी र नेपाल शिक्षक महासंघबीच अनौपचारिक छलफल भएको छ। तर, ठोस निर्णय भएको छैन।

आमरण अनशनमा बसेका कारण उनीहरुको स्वास्थ्यमा समस्या देखिएको छ। तर, विगतमा विना प्रतिस्पर्धा शिक्षण पेशामा प्रवेश गरेकालाई आन्तरिक वा स्वत स्थायी गरिने प्रवृत्ति गलत भएको भन्दै शिक्षा सम्वद्ध व्यक्ति तथा समूहले भने अनशन प्रवृत्तिको आलोचना गरेका छन्। शिक्षा मन्त्रालयका सचिव खगराज बरालले उनीहरुको माग पुरा गर्ने सम्बन्धमा आन्तरिक छलफल भइरहेको बताए।