भोलिको सचिवालय बैठकबाट एकताको बाँकी काम : प्रचण्ड

प्रकाशित मिति:

सिन्धुली– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (आइतबार) बस्ने सचिवालय बैठकबाट एकताका बाँकी काम टुंगिने सम्भावना रहेको बताएका छन्। सिन्धुली जिल्लाको सुनपानी गाउँपालिकाकामा आयोजित एक कार्यक्रममा प्रचण्डले एकताको काम लगभग सकिइसकेको पनि दाबी गरे।

‘हामी भोलि सचिवालय बैठक बस्दैछौं। सकेसम्म भोलि बेलुकासम्म कार्यविभाजन लगायत विशेष कमिटी बनाउने, केन्द्रीय निकायहरु, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा समिति जस्ता विषयहरु टुंग्याउनेतिर छौं’, उनले भने। उनले भदौबाट जिल्ला अधिवेशनतिर जानुपर्छ भन्ने मोटामोटी सोचाइमा रहेको पनि बताए। ‘सेड्युल फाइनल भइसकेको छैन’, उनले भने, ‘भदौदेखि मंसिर सम्ममा जिल्ला कमिटीको अधिवेशन सक्न पाइयो भने त्यसपछि महाधिवेशनतिर केन्द्रित हुने र पार्टी पुरै सेटल हुने र एकीकृत रुपमा अघि बढ्ने किसिमले हामी सोच्दै छौ।’

उनले विकास निर्माण र समृद्धिका कुरामा अबको बजेटपछि झनै फोकस भएर लाग्ने बताए। प्रचण्डले आउने निर्वाचनमा एक्लै दुई तिहाइ ल्याउने टार्गेटबाट अघि बढेको दाबी गरे। ‘एक्लै दुई तिहाइ भयो भने मात्रै हाम्रो समृद्धिको सपना पूरा गर्न आवश्यक ऐन कानुन बनाउनेदेखि जरुरी पर्दा संविधान संशोधन गरेर पनि अगाडि बढाउन सम्भव हुन्छ’, उनले भने। उनले आफूहरुलाई कमजोर र असफल हुने छुट नभएको दाबी गरे।