मलेसिया गन्तव्य खोल्न व्यवसायीको माग

प्रकाशित मिति:

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी संघले एक वर्षदेखि बन्द प्रमुख गन्तव्य मलेसिया सुचारु गर्न माग गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूको विशेष भेलाले सूचीकृत भएका स्वास्थ्य संस्थाबाटै कामदारको मेडिकल परीक्षण गर्ने व्यवस्था मिलाएर मलेसियामा कामदार जाने बाटो खोल्न माग गरेको हो । गत वर्ष जेठ २ गतेदेखि मलेसिया कामदार जान रोक लागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड पुगेका सूचीकृत सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने वातावरण भएपछि मात्रै मलेसिया गन्तव्य खुल्ने जनाएको छ । मन्त्रालय मलेसियाको स्वास्थ्य संस्था अनुगमन गर्ने टोलीको प्रतीक्षा छ ।
संघले थप गरिएको म्यानपावर कम्पनीको धरौटीमा ब्याज पाउनुपर्ने र मर्ज हुने म्यानपावर कम्पनीलाई विशेष सुविधा दिनुपर्ने माग पनि गरेको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधन गरी भदौसम्म धरौटी राख्नुपर्ने सीमा तोकेको छ । ३ हजारभन्दा कम कामदार पठाउने कम्पनीले ५० लाख नगद र १ करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, ३ देखि ५ हजार कामदार पठाउने कम्पनीले एक करोड नगद र दुई करोड रुपैयाँ बैंक ग्यारेन्टी र ५ हजारभन्दा माथि कामदार पठाउने कम्पनीले दुई करोड नगद र चार करोड बैंक धरौटी राख्नुपर्ने नियम छ ।

संघले दूतावासबाट मागपत्र प्रमाणीकरण गर्न ढिलाइ गर्नुका साथै दूतावासका कर्मचारीले अनुचित लाभ लिने गरेको आरोप लगाएको छ । मागपत्र प्रमाणीकरण गर्न रोजगारदाता कम्पनीलाई युजर नेमु र पासवर्ड दिई अनलाइनबाटै मागपत्र पेस गर्न पाउने व्यवस्था मिलाउन माग गरिएको संघका अध्यक्ष रोहन गुरुङले बताए ।संघले कामदार आपूर्ति गर्ने भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशका म्यानपावर कम्पनीले जसरी आफूले पनि सेवा शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेको छ । उसले करारपत्रअनुसार सेवा र सुविधा, काम पाए पनि फर्किने गरेको भन्दै कामदारको दायित्व कायम गर्नुपर्ने माग गरेको छ । संघले माग जेठ २३ गतेसम्म पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।