विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

प्रकाशित मिति:

काठमाडौँ – धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ । ‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन¬’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको हो ।

नेपालमा निजी र सरकारी विद्यालयका कारण धनी र गरीबको विभेद् उत्पन्न हुने गरेको छ भने सामुदायिक विद्यालयमा पनि धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबर (उच्च समिश्रण) भएमा भेद्भाव झन् बढ्ने देखिएको छ । स्वीटजरल्याण्डको जुरिच विश्वविद्यालयका डा जेनी ग्रुटर, संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यलायका प्रा मेलानी किलेन र नेपालको त्रिभुवन विश्वविद्यालयका सन्देश ढकालले ललितपुरका ७६४ विद्यालयका विद्यार्थीमा गरेको एक अध्ययनले गरीब परिवारका विद्यार्थीलाई सरकारको छात्रवृत्तिको प्रबन्धले उनीहरुमा सकारात्मक सामाजिक अन्तर्क्रियाको भावना विकास भएको औल्याएको हो ।अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ, “कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उच्च समीश्रण भएका विद्यालयमा उनीहरुले निकै कम भेदभाव महसुस गरेको पाइयो । तुलनात्मकरुपमा धनी पृष्ठभूमिका बालबालिका गरीब पृष्ठभूमि भएका बालबालिकाप्रति बढी समावेशी, सहिष्णु र घुलमिल भएको पाइयो ।”

कमजोर आर्थिक अवस्थाका बालबालिकालाई छात्रवृत्तिको माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउँदा उनीहरुको सामाजिक सहभागिता अभिवृद्धि गर्ने, भेद्भाव र बहिष्करण न्यून गराउन कत्तिको सहयोग पुग्छ भन्नेबारेमा आफूहरुले एक वर्षदेखि अध्ययन गरिरहेको अनुसन्धानकर्ता ढकालले बताउनुभयो । उहाँले विद्यालयमा विविधता प्रदान गर्नु समावेशी र समानताका लागि प्रभावकारी हुने बताउँदै आफूहरुले केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी छात्रवृत्तिका लागि आवश्यक पर्ने कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहिचान र छनोटका लागि विश्वसनीय हुने कम्प्युटरमा आधारित एक विधिको पनि विकास गरेको जानकारी दिनुभयो । – रासस