इन्डोनेसियाको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु

प्रकाशित मिति:

२१ साउन, इन्डोनेसिया । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको छ । बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकर्ताहरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पु–याएका थिए । राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिनुभयो । हजारौं घरमा क्षति पुगेको छ र अधिकांश मानिसको मृत्यु भत्किएका घरले पुरिएर भएको हो, उहाँले भन्नुभयो । लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ ।