नेकपाको सचिवालय बैठक : केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठन प्रमुख एजेण्डा

प्रकाशित मिति:

काठमाडौँ – वर्षदिन पुग्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया पूर्ण रूपमा नटुंगिएपछि पार्टीका शीर्ष नेतृत्वमाथि दबाब सृजना भएको छ । दबाबका बीच आइतवार बिहान ढिलो गरेर बसेको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनका विषयमा केन्द्रित हुने बताइएको छ ।पार्टी एकीकरण भएको वर्षदिनमा एकताका सबै कामहरू टुंग्याउने भनिएको भएतापनि अस्ति जेठ ३ गते जनवर्गीय संगठनको नेतृत्व घोषणाबाहेक अरु केही भएन ।

आइतवार बस्ने सचिवालय बैठकमा पार्टीको पोलिटब्युरो गठनको विषय लगायत केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने, विशेष प्रदेश कमिटी गठन गर्ने, विशेष जिल्ला कमिटी गठनको छलफललाई अन्तिम रुप दिने विषय समेटिएको एक सचिवालय सदस्यले बताए ।

केन्द्रीय सदस्य संख्याको एक तिहाइ संख्या राखेर पोलिटब्युरो बनाउने सक्ने विधानमा उल्लेख गरिएको छ । पोलिटब्युरो १४७ जनाको हुने भन्ने पहिल्यै तय भइसकेको भएता पनि आन्तरिक विवादका कारणले हालसम्म सदस्यहरूको टुंगो लागेको छैन । ८१ जना पोलिटब्युरो पूर्वएमालेको भागमा र ६६ जना पूर्वमाओवादीको भागमा पर्नेगरी संरचना तयार गर्ने यसअघि नै मोटामोटी सहमति भएको हो । आइतवारकै सचिवालय बैठकले केन्द्रीय आयोग, विभागदेखि उपत्याका विशेष प्रदेश कमिटी गठनसम्मको निर्णय गर्ने सम्भावना रहेको छ ।