अपडेट : त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति:

धादिङ  – धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशूलीमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो । घटनास्थलमै मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङकै राजन आचार्य रहेको प्रहरीले जनाएको छ । यस्तै उपचारका क्रममा मृत्यु हुनेमा प्रकाश श्रेष्ठ, शेखर मगर र उज्ज्वल पाण्डे छन् । प्रहरीका अनुसार उनीहरुको परिचय खुले पनि ठेगाना खुलेको छैन । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशूलीमा खसेको हो ।