सिड्नीमा उभौलीको रौनक

प्रकाशित मिति:

सिड्नी – किराँत सोसाइटी अफ न्यूसाउथवेल्सको आयोजनामा यही मे १८ तारिख शनिबारका दिन सिड्नीको अर्लउडस्थित गफ ह्विटलम पार्कमा उभौली पर्व मनाइयो । आफ्ना पितृहरूलाई सम्झना र श्रद्धा प्रकट गर्दै पूजाआजा गरेर सुरु भएको उभौलीमा सिड्नीमा रहेका विभिन्न किराँती समुदायहरूले आफ्नो संस्कृति झल्कने नाँचगान र सांस्कृतिक प्रस्तुती पेश गरेका थिए । साकेला, साकेवा, साकेन्वा लगायतका नाँचका साथै किराँत समुदायका खानेकुराहरू सो अवसरमा मुख्य आकर्षण बनेको थियो ।

प्रवासमा रहेका नेपालीहरू माझ नेपाली संस्कृतिलाई जगेर्ना गर्दै दोश्रो पुस्ताका नेपालीहरूलाई समेत हाम्रा चाडपर्वका महत्वका बारे जानकारी दिने तथा किराँत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरिएको उभौलीमा सिड्नीवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । परदेशको विरानो भूमिभन्दा पनि मातृभूमिको किराँती समुदायको कुनै थातथलोमा पुगेको अनुभूति हुनेगरि त्यस स्थानमा सिड्नी र आसपासमा रहेका किराँती समुदायहरू आफ्नो मौलिक भेषभूषामा सजिएर आएका थिए । त्यस अवसरमा किराँती मौलिक बाजागाजाका साथ उपस्थित मानिसहरूले सो स्थलको रौनक अझ बृद्धि गर्न सघाउ गरिरहेका आभाष पाइन्थ्यो ।

नेपालमा वसन्त ऋतुको शुरुवातसँगै वर्षा होस्, बालीनाली सप्रिऊन्, सम्रग समाजमा शान्ति, सद्भाव छाओस्, प्राकृतिक प्रकोप नहोऊन् र सबैलाई सुख समृद्धि हासिल होस् भनेर किराँत समुदायमा उभौली मनाउने परम्परा रहिआएको छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मानिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला नाँचमार्फत् पितृ सम्झने र प्रकृतिको आराधना पनि गर्ने गरिन्छ । विविध कारणले आफ्नो मातृभूमिलाई छाडेर परदेशमा बसिरहेका नेपालीहरूले आफ्नो कला, संस्कृति र परम्परालाई जोगाइराख्न तथा विदेशमा जन्मेका नयाँ पुस्तालाई हाम्रो मूल र संस्कृतिप्रति जागरुक बनाउनका हेतुले किराँत सोसाइटी अफ न्यूसाउथवेल्सले सन् २००५ देखि सिड्नीमा उभौली पर्व मनाउँदै आइरहेको छ ।