बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई कांग्रेस नेता रिजालकाे आग्रह

प्रकाशित मिति:

काठमाडौं — नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै उहाँले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उहाँले संसोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । विगतमा जस्तै अहिले पनि राजनीति र दलीय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी उहाँले गर्नुभयो । विगतमा योजना गए पनि बजेट नपठाउने काम भएको भन्दै उहाँले राजनीतिबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण नभएसम्म विकास र सम्मृद्धि संभव नभएको तर्क गर्नुभयो ।

भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने सरकारका अगाडि दैनिक भ्रष्टाचारका घटना सार्वजनिक भईरहेको भन्दै उहाँले व्यंग्य गनुृभयो । सरकारले पछिल्लो समय ल्याएको मानवअधिकार आयोग सम्बन्धी विधेयक लगायतका विधेयकहरुमा गरिएको व्यवस्था तथा सूचना प्रविधि नियन्त्रण गर्ने, मिडियालाई नियन्त्रित गर्ने र राष्ट्रिय प्राथमिकताका योजना भनेर सबै खर्च केन्द्रीकृत गर्ने बाटोबाट विदेशी लगानी पनि आउदैन स्वदेशी लगानी पनि नबढ्ने दाबी गर्नुभयो ।

बिप्रेषणको आम्दानीलाई जनताको पक्षमा प्रयोग गर्नका लागि सरकारले स्पष्ट आयोजना ल्याउन नसकेको तर्क गर्नुभयो । सरकारले चालु आर्थिक वर्षलाई आधार वर्ष बनाउने भने पनि इतिहास रच्ने र तीब्र विकास गर्ने वर्ष बनाउने ढंगको सिद्धान्त र प्राथमिकता नआएको टिप्पणी उहाँले गर्नुभयो । आन्तरिक ऋण उठाउने कुरा बाहिर आएको भन्दै उहाँले आन्तरिक ऋण के का लागि भन्ने बारे अर्थमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । नेकपाका महासचिव विष्णु पौडेलले आगामी बर्षको बजेटका प्राथमिकता निर्धारण गर्दा सही सिद्धान्त निरुपण गरिएको भन्दै बजेटका प्राथमिकता र सिद्धान्तको समर्थन गर्नुभयो ।

खाद्यसुरक्षा, रोजगारी, सामाजिक सुरक्षा लगायत मौलिक हकका पक्षमा रही प्राथमिकता निर्धारण गरिएको भन्दै उहाँले राष्ट्रिय आकांक्षालाई पुरा गर्ने गरि सन् २०३० अगाडि नै मध्यम आए भएको मुलुकको रुपमा विकसित गर्ने अठोट सिद्धान्त र प्राथमिकतामा गरिएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिंङ्देनले कागजमा जति राम्रा योजना आएपनि कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा जे जस्तो योजना ल्याएपनि नियन्त्रणको पक्षमा प्रभावकारी काम हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भ्रष्टाचार संस्कृति जस्तै बनिरहदा पनि सरकारले एउटा पनि भ्रष्टाचारको काण्डलाई टुंगो लगाउने काम नगरेको बताउनुभयो ।