दशगजा क्षेत्रलाई भारत , नेपालका नागरिकले अतिक्रमण गर्दा पिलरको नामनिशाना मेटियो !

प्रकाशित मिति:

सर्लाही – नेपाल र भारत बीचको सिमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । नेपाल र भारत दुबै देशका नागरिकले दशगजा क्षेत्रको जमिन अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गोबरको गुइठा बनाउने, पशु चौपाया बाध्ने र बाटो बनाउने जस्ता कार्य गरेका कारण अहिले दुई देशलाई छुट्याउने दशगजाको भुमि अतिक्रमणको चपेटामा परेको हो । साविकको भाँडसर ,बलरा, त्रिभुवननगर, मधुवनीगोठ मलंगवा, हरिपुर्वा, लगायत क्षेत्रमा गाडिएका जंङ्गे पिलर, सहायक पिलर र साना पिलर अतिक्रमण पछि धमाधम हराउन थालेका छन ।

दशगजा क्षेत्रलाई दुवै देशका नागरिकले अतिक्रमण गर्दा पिलरको नामनिशाना मेटिन थालेको छ । पिलर ढल्ने अवस्थामा पुगेको भएपनि त्यसलाई संरक्षण गर्ने तर्फ दुवै देशका स्थानीय प्रशासनले चासो देखाएका छैनन् । यसरी दुई देश बीचको सिमा छुट्याउन गाडिएका ३१५ पिलर मध्ये आठ वटा जंङ्गे पिलर २० वटा सहायक पिलर र १४० वटा साना पिलर अत्यन्तै जिर्ण अवस्थामा पुगेको र दुई वटा साना पिलर हराई सकेको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ ।

पुर्वमा संग्रामपुर देखी पश्चिममा बलरा नगरपालिका सम्मको ४६ किलोमिटर दशगजाको ११ स्थानमा दशगजा अतिक्रमणको चपेटामा परेको छ। बलरा नगरपालिका ४ मा दुबै तिरबाट दशजगा अतिक्रमण गरि घर बनाउदा सानो पिलर घर भित्र परेको छ भने कतै परालले पुरिएका छन् ।

स्थानीय अक्लेश सहनी भन्नुहुन्छ, ‘घर बनाएर बस्न कतै खाली जग्गा छैन,सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परेपनि कुनै चिन्ता छैन।’ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्रमा दुवै देशले ३०/३०फिट दाँया र बायाँ कुनै पनि कार्य गर्न वा घरटहरा बनाई अतिक्रम गर्न निषेधित गरिएको हुन्छ।सीमा स्तम्भलाई सुरक्षीत बनाउन दुबै देशको बराबर दायित्व भएपनि चासो नदेखाएको कारण अधिकाशं स्तम्भ जीर्ण अवस्थामा पुगेका छन । – न्युजअफनेपाल