महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

प्रकाशित मिति:

काठमाडौं – नेपाल पत्रकार महासंघ मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै दोस्रो चरणको आन्दोलनमा उत्रिएको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा कुनै चासो नदिएपछि आज बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ । जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम रहेको छ ।

यसैगरी जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया गर्ने भएको छ । जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।