मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या

प्रकाशित मिति:

संयुक्त राष्ट्रसंघ । अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ ।  राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त आक्रमणलाई मानवता विरोधी रहेको पनि बताउनुभयो ।  यसैबीच, मालीको किडाल क्षेत्रमा शान्ति सैनिक सवार सवारी साधनले सडकमा छाडिएको बेबारिसे बमलाई ठक्कर दिँदा भएको दुर्घटनामा चाडका शान्ति सैनिकहरु घाइते भएका छन् । मालीमा सन् २०१२ देखि राष्ट्रसंघको अगुवाईमा शान्ति सैनिक तैनाथ छन् । सन् २०१३ यता मालीमा मात्र १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ ।
रासस