यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

प्रकाशित मिति:

रुकुम– सल्यानमा सञ्चालन हुने यात्रुबाहक सवारी साधनमा खसीबोका राखेमा कारबाही हुने भएको छ। गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो। यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ।

गाडीमा खसीबोका राख्दा यात्रा असुरक्षित हुने भएकाले आफूहरुले राख्न नदिने अभियानको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।अब राप्ती राजमार्ग अवरुद्ध गरी १० मिनेट पनि गाडी रोक्न नपाइने उनले बताए। खसीबोका राखेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको पाइए सार्वजनिक मुद्दा दर्ता गरेर कानुनी कारबाही गरिने डिएसपी शाहीको भनाई छ। गाडीमा राखीएका खसीबोका हटाउनमात्र एक घण्टा बढी समय लाग्ने र त्यसले यात्रुलाई समयमा नै गन्तव्यमा पुग्न समस्या हुने गरेको प्रहरीको बुझाई छ।

खसीबोकाका कारण दुर्घटना पनि बढ्दै गएको बताइएको छ। जथाभावी रुपमा पार्किङ गर्दा गाडी चिप्लिएर दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। अझै पनि राजमार्ग तथा अस्थायी मार्ग व्यवसायीले बेवास्ता गरी मनपरी गाडी पार्किङ गर्ने समस्या रहेकाले यसलाई कम गर्न पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी चुडामणी न्यौपानेले बताए।उनले व्यवसायीले ट्राफिक नियम माने अधिकांश समस्याको समाधान हुने भएकाले उक्त अभियानलाई सफल पार्नको लागि सबैलाई आग्रह पनि गरे। यातायात व्यवसायीको सानो त्रुटिले समेत ठूलो दुर्घटना निम्त्याउने भएकाले सधैं सजक रहन जरुरी रहेको प्रजिअ न्यौपानेको भनाई छ। रात्री बसमा अनिवार्य दुई वटा चालक राख्न पनि प्रशासनले निर्देशन दिएको छ।