रोजगारीका लागि वैशाखमा मात्रै विदेशिए ४८ हजार युवा, सबैभन्दा धेरै कतार र साउदी अरबमा !
काठमाडौं – वैदेशिक रोजगारीका लागि ०७६ को पहिलो महिनामै ४८ हजार ७ सय ५६ जना युवा विदेशिएका छन्। रोजगारीको खोजीमा विदेशिने युवाहरुको प्रमुख रोजाइमा कतार परेको छ। रोजगारीकै खोजीमा नयाँ तथा पुनः श्रम स्विकृति लिएर १४ हजार २ सय ४७ युवाहरु कतार पुगेका हुन्। अघिल्ला वर्षहरुमा नेपाली युवाको प्रमुख गन्तव्य मलेसिया रहँदै आएकोमा सरकारले २ जेठ ०७५ देखि मलेसिया रोजगारी बन्द गरेसँगै कतारतर्फ युवाहरुको आकर्षण बढेको हो। अझैसम्म पनि नयाँ श्रम स्विकृति लिएर नेपाली कामदार मलेसिया जान पाएका छैनन्।
कतारपछि नेपाली युवाको रोजाइमा साउदी अरब परेको छ। साउदीमा अन्तिम श्रम स्विकृति लिएर बैसाख महिनामा मात्रै झन्डै १२ हजार युवाहरु विदेशिएका छन्। यस महिनामा युएई जाने कामदारको संख्या १० हजारभन्दा माथि छ। यस महिना युएई सबैभन्दा बढी नेपाली युवा जाने तेस्रो देश बनेको छ। मलेसिया, कुवेत, बहराइन, ओमान, साइप्रस लगायत मुलुकहरु नेपाली युवाहरुका आकर्षक गन्तव्य मुलुकका रुपमा रहँदै आएका छन्। मलेसियामा नयाँ श्रम स्विकृति लिएर जाने कामदार नभए पनि कलिङ भिसा लागेका तथा पुनः श्रम स्विकृति लिएर ४ हजारभन्दा बढी कामदार मलेसिया पुगेको विभागको तथ्यांकमा उल्लेख छ।
व्यवसायिक कामका लागि १ सयभन्दा बढी वैदेशिक रोजगारीमा खाडीलगायत मुलुकमा ठूलो संख्यामा अदक्ष कामदारहरु नै जाने गरेका छन्। व्यवसायिक कामका लागि जाने कामदारको संख्या निकै कम छ। बैशाख महिनामा विभागबाट श्रम स्विकृति लिएर १ सय ३ जना कामदारहरु वैदेशिक रोजगारीमा पुगेका छन्। जसमध्ये ९७ जना पुरुष र ३ जना महिला कामदार छन्। व्यवसायिक कामका लागि खाडी मुलुकभन्दा युरोपेली मुलुकमा बढी कामदार जाने गरेको विभागका निर्देशक भोलानाथ गुरागाईं बताउँछन्। निर्देशक गुरागाइँ भन्छन्, ‘उच्च दक्षता भएका वा व्यवसायिक कामका लागि जाने कामदारहरुको कमाई निकै राम्रो हुन्छ, यस्तो काममा जाने कामदारहरु समस्यामा पर्ने सम्भावना कम हुन्छ।’
६० प्रतिशत अदक्ष कामदार बैशाख महिनामा विदेशिएका करिब ६० प्रतिशत कामदारहरु अदक्ष रहेका विभागले जनाएको छ। ४८ हजार विदेशिएकामा २८ हजार ५ सय भन्दा बढी अदक्ष कामदार छन्। यसबीचमा १६ हजार मात्रै दक्ष कामदारहरु विदेशिएका छन् भने ३ हजार ६ सयभन्दा बढी कामदारहर अर्धदक्ष रहेका छन्। रोजगारीका लागि ठूलो संख्यामा विदेशिने अदक्ष कामदारहरु खाडी लगायतका मुलुकमा जाने र अदक्ष कामदारहरु नै समस्यामा पर्ने विभागले जानकारी दिएको छ। अदक्ष कामदारहरु विदेश जाँदा उनीहरु समस्यामा पर्ने क्रम बढ्न थालेपछि सरकारले ‘पहिले सिप त्यसपछि मात्रै वैदेशिक रोजगार’ अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ।
विदेशिएका २८ सय महिलामा १७ सय अदक्ष बैशाख महिनामा २ हजार ८ सय ८७ महिला वैदेशीक रोजगारीमा गएका छन्। जसमध्ये १ हजार ७ सय २५ जना महिला अदक्ष छन्। उच्च दक्षता भएका १ जना, व्यवसायिक कामका लागि ६ जना र दक्षता भएका २ सय महिला मात्रै वैदेशिक रोजगारीमा गएका छन्। आफू कुन कामका लागि कुन देश जाँदैछु भन्ने जानकारीसमेत नहुँदा वैदेशिक रोजगारीमा गएका महिलाहरु समस्यामा पर्ने क्रम बढ्दै गएको विभागका निर्देशक गुरागाईं बताउँछन्। वैदेशिक रोजगारीमा जानु अगाडि आफू कुन देश जान लागेको, के कामका लागि जान लागेको भन्ने कुरा बुझेर इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा समस्यामा पर्ने सम्भावना कम रहने विभाले जनाएको छ।