तरकारीको मूल्य बढ्यो

प्रकाशित मिति:

डोटी –  मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो । तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, ‘आवश्यकताअनुसार तरकारी उत्पादन हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।’

‘तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मजदूरी गरी खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन्,’ उनले भने । हाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो २ सय रुपैयाँ पुगेको स्थानीय उपभोक्ताहरू बताउँछन् । केही दिन पहिले प्रतिकिलो सय रुपैयाँमा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्ता सोनु कामीले बताए ।

उनले भने, ‘प्रतिकिलो सय रुपैयाँमा पाइने गोलभेँडा मूल्य अहिले दुई सय रुपैयाँ पुगेको छ । काउली, सिमलगायतका तरकारीको भाउ पनि अत्यधिक बढेको छ, यसले हामीलाई धेरै समस्या भएको छ ।’ पर्याप्तमात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारणले पनि तराई र भारतका विभिन्न स्थानबाट तरकारी आयात गर्नु परेको छ । महँगो मूल्यमा आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको देउवा तरकारी पसल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताए । उनले भने, ‘जिल्लामा तरकारी पाउन छोड्यो, तराईबाट तरकारी आयात गर्नु परेका कारण मूल्यवृद्धि भएको हो ।’

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाबाट समेत तरकारी आयात हुँदै आएको छ । स्थानीय बजारमा अहिले आलु प्रतिकिलो १ सय, लौका प्रतिकिलो ८०, हरियो खुर्सानी प्रतिकिलो १५०, स्मिला प्रतिकिलो ९० कम बिक्री भइरहेका छन् । यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसले पिच्छे तरकारीको मूल्य अलग अलग लिने गरेको उपभोक्ताको गुनासो छ । यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग-अलग मूल्य लिइँदै गरे पनि मूल्यमा एक रूपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दिपायलका स्थानीय हर्कबहादुर बमले बताए । उनले भने, ‘पसलेपिच्छे अलगअलग मूल्य लिइन्छ तर मूल्यमा एक रूपता दिन कसैले चासो देखाएका छैनन् ।’ – विमलबहादुर विष्ट/रासस