निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

प्रकाशित मिति:

सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक विकास र सामाजिक परिवर्तन शीर्षकमा विद्यालय शिक्षा बारे गरिएको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन सम्पन्न तथा विपन्न दुवै पृष्ठभूमिका विद्यार्थीले एकै थलोमा अध्ययन गर्न पाउनु पर्ने देखाएको हो। नेपालमा निजी र सरकारी विद्यालयका कारण धनी र गरिबको विभेद उत्पन्न हुने गरेको तथा सामुदायिक विद्यालयमा धनी र गरिब पृष्ठभूमिका विद्यार्थीको संख्या बराबर अर्थात उच्च सम्मिश्रण भएमा भेदभाव झन् बढ्ने देखिएको छ।

स्वीट्जरल्याण्डको जुरिच विश्वविद्यालयका डा. जेनी ग्रुटर, अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका प्रा. मेलानी किलेन र त्रिभुवन विश्वविद्यालयका सन्देश ढकालले ललितपुरका ७ सय ६४ विद्यालयका विद्यार्थीमा गरेको सो अध्ययनले गरिब परिवारका विद्यार्थीलाई उपलब्ध छात्रवृत्तिले सकारात्मक सामाजिक अन्तरक्रियाको भावना विकास भएको औंल्याए।

अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ, ‘कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उच्च सम्मिश्रण भएका विद्यालयमा उनीहरुले निकै कम भेदभाव महसुस गरेको पाइयो। तुलनात्मक रुपमा धनी पृष्ठभूमिका बालबालिका गरिब पृष्ठभूमि भएका बालबालिकाप्रति बढी समावेशी, सहिष्णु र घुलमिल भएको पाइयो।’ कमजोर आर्थिक अवस्थाका बालबालिकालाई छात्रवृत्तिका माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउँदा उनीहरुको सामाजिक सहभागिता अभिवृद्धि हुने अध्ययनको सुझाव छ। अनुसन्धानकर्तामध्येका एक ढकालले भने विद्यालयमा विविधता प्रदान गर्नु समावेशी र समानताका लागि प्रभावकारी हुने बताउँदै आफूहरुले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा छात्रवृत्तिका लागि आवश्यक पर्ने कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहिचान र छनोटका लागि सफ्टवेयरमा आधारित एक विधिको पनि विकास गरेको बताए।