काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले मिडिया काउन्सिल विधेयकबारे सञ्चार क्षेत्रबाट उठाइएका दण्डसजायलगायत विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् ।रिपोर्टर्स क्लब नेपालद्वारा सोमवार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘संवैधानिक व्यवस्थालाई बलियो बनाउन यसमा गहन छलफल र विचार पुर्‍याउनुपर्छ, हामीले निर्माण गर्न चाहेको सभ्य समाजभित्र नागरिक, मानवअधिकार र सञ्चारकर्मीका अधिकार पनि अक्षुण्ण रुपमा संरक्षण होऊन् भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।’

‘हामीले निकै ठूलो सङ्घर्षबाट ल्याएको यो व्यवस्थामा नागरिकका अधिकार संरक्षित हुनुपर्छ, यसमा पनि समाजलाई निरन्तर चेतना र उज्यालो दिशातर्फ जागृत तुल्याउँदै आएको पत्रकार जगत्का अधिकार कुण्ठित गर्ने प्रश्नै उठ्दैन,’ नेता रावलले भने । सञ्चारमाध्यमले पनि जिम्मेवार हुनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘लोकतन्त्र र सञ्चारजगत्‌बीच पारस्परिक सम्बन्ध रहेको हुँदा यसलाई चर्काएर होइन, पारस्परिक सरसल्लाहका आधारमा उठेका विषयमा समाधान खोजिनुपर्छ ।’ पार्टी स्थायी कमिटी सदस्य रावलले सकारको कामकारवाहीको मूल्याङ्कन एवं राष्ट्रिय महत्व र जनसरोकारका विषयमा छलफलका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठकको माग गरेका छन् । बैठक नबोलाइँदा कार्यकर्ता पङ्क्ति र पार्टीलाई क्षति पुर्‍याउने जनाउँदै उनले छिटोभन्दा छिटो बैठक बोलाएर छलफल गर्न पार्टी नेतृत्वसँग आग्रह गरे ।

  •  
    33
    Shares
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •