दर्ता नभएका पसलहरुमा अनुगमन

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल,स्याङ्जा स्याङ्जामा व्यवसायी दर्ता नगरी पसल संचालन गरेपछि आन्तरिक राजस्व विभागको निर्देशनमा बजार अनुगमन गरिएको छ । पहिलो पटक भीरकोट नगरपालिकाको बयरघारी बजारबाट अनुगमन शुरु गरिएको हो ।

विभागले जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएपछि बयरघारी बजार अनुगमन थालिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक अनन्तराज मरासिनीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका रामेश्वर पौडेल, भीरकोट नगरपालिकाका लेखा अधिकृत जब्वर अलिमिया, भीरकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जगदिशप्रसाद कोइराला, महासचिव नुवादत्त अर्याल र दहथुम प्रहरी चौकीका प्रमुख चेतलाल वि.क.को संयुक्त टोलीले बजार अनुगमन गरेको बताइएको छ ।

करको दायरमा नआएर व्यापार, व्यवसाय संचालन गरेका व्यवसायीलाई करको दायरामा ल्याउने उदेशयले सो अनुगमन गरिएको भीरकोट उद्योग वाणिज्य संघका महासचिव नुवादत्त अर्यालले बताए । पछिल्लो समय घरेलु मदिराका कारण शान्ति सुरक्षामा समस्या देखिन थालेपछि प्रहरीले घरेलु मदिरा विक्रि वितरणमा समेत रोक लगाउदै आएको छ । घरेलु मदिरा विक्रि वितरण तथा ओसार पसार नगर्न समेत व्यवसायीलाई सचेत गराइएको छ । मदिरा विक्रि वितरण गर्ने व्यवसायलाई अनिवार्य करको दायरमा जान पहिलो पटक सुझाव दिइएको कोलेनिकाका अनन्तराज मरासिनीले बताए । टोलीले गरेको अनुगमनमा अधिकांश पसलहरु दर्ता नगरी संचालन गरेको पाएको छ । उनीहरुलाई जति सक्दो चाडो पसल दर्ता गरेर मात्रै व्यवसाय गर्न सुझाव दिएको बताइएको छ । करिव २० देखि २५ पसलहरु अनुगमन गरिएको थियो । यो सांकेतिक र अन्य व्यवसायीले पनि थाहा दिन उदेश्यले बजार अनुगमन गरिएको टोलीले जनाएको छ ।