भुक्तानी माग गर्दै नवलपरासीका उखु किसान आन्दोलनमा 

प्रकाशित मिति:

रबिन्द्र यादव – ७ जेठ ,नवलपरासी पश्चिमका किसानहरूले सोमबार देखि वागमती खाडसारी प्रा लि सुस्ता गाउपालिका वडा नं २ कुडिया चिनीमिलमा तालाबन्दी गरेका छन् । चिनी उद्योगीले समयमै उखुको भुक्तानी नगरेको र फोहोर व्यवस्थापन नगरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

त्यसैगरी शनिबारदेखि प्रतापपुर गाउँपालिका वडा नं ९ प्रतापपुरमा वागमती मिलकै चिनी लोड गरेको लु ५ ख २९४० नम्बरको ट्रक किसानहरूले रोकेका छन् । उक्त ट्रकलाई सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले छुटाउन गएको थियोे , केही समय प्रहरी र किसान बिच तनाव सृजना समेत भएको थियोे । किसानहरुको भिडले प्रहरी रित्तो हात फर्केको थियोे । किसानहरुले प्रत्यक्ष मिल मालिक संग वार्ता गर्ने अडानमा छन् । यसपटक मिलले किसानबाट झन्डै ७ लाख ११ हजार क्विन्टल उखु उधारोमा लिएको छ । सरकारले तोकेको प्रतिक्न्टिल उखुको मूल्य ५३६ रुपैयाँमा अनुदान रकम ६५ रुपैयाँ २० पैसा घटाएर बाँकी ४७० रुपैयाँ ८० पैसा का दरले मिलले किसानलाई भुक्तानी गर्नुपर्ने रकम करिव ३३ करोड ४७ लाख ३८ हजार पुग्छ ।

नवलपरासीमा प्रतापपुर गाउँपालिकामा रहेको इन्दिरा सुगर मिलले समेत गत वर्षको करिव ५ करोड रकम किसानलाई भुक्तानी दिन बाँकी रहेको छ भने यस वर्षको रकम समेत भुक्तानीका लागि कुनै प्रक्रिया सुरु गरेको छैन। सरकारले उखुबालीलाई नगदेबालीको रूपमा घोषणा गरे पनि मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानहरू आन्दोलित भएका हुन् । उखु ‘क्रसिङ सिजन’ सकिएको महिना बितिसक्दासमेत वागमती खाडसारी प्रालि कुडिया र इन्दिरा सुगर मिल गंगापपुरले उखु किसानलाई भुक्तानी नदिएपछि किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत किसानहरुले बागमती खाडसारी मिलको मुल गेटमा ताला बन्दी गरेका हुन । किसानहरूले मिलको प्रशासन शाखा, वाणिज्य विभाग, उखु विभाग, स्टोर शाखा, मिल हाउस र चिनी गोदाममा ताला बन्दी समेत गर्ने बुझिएको छ । उद्योगले समयमा भुक्तानी नदिएपछि किसानहरूले ऋण काढेर उखु काट्ने कामदार र ढुवानीकर्तालाई पैसा दिनुपर्दा किसानहरू दोहोरो मारमा परेको किसान युवराज मौर्याले बताए । उखु किसानको रकम भुक्तानी गर्न प्रशासन पहल नगरेको किसानको गुनासो छ । अहिले पनि धेरै जसो किसानको उखु खेत मै सुकिरहेको छ तर जिल्लामा रहेको तीन वटै सुगर मिल सुचना टासेर अगावै बन्द गरि सकेका छन् ।