नाडाल नवौं पटक च्याम्पियन

प्रकाशित मिति:

लन्डन, एजेन्सी -यस वर्षको इटालियन ओपनको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । विश्व वरियताको दोस्रो स्थानका टेनिस खेलाडी नाडालले फाइनलमा शीर्ष स्थानको नोभाक जोकोभिचलाई ६–०, ४–६, ६–१ ले हराउंदै उपाधि हात पारेका हुन् । नाडालले कीर्तिमानी नौ पटक उक्त उपाधि चुमेका हुन् ।

योसँगै नाडालले यही प्रतियोगितामा जोकोभिचलाई फाइनलमा तेस्रो पटक हराए । नाडाल र जोकोभिच करियरमा ५४औं पटक आमने–सामने भएका छन् । जसमा नाडालले २६औं पटक जित दर्ता गर्न सफल भए । यो नाडालको ५०औं र जोकोभिचको ४९औं मास्टर्स फाइनल थियो । नाडालले करिअरमा ३४औं पटक मास्टर्ससंगै १ हजार उपाधि जितेका छन् । उनी सबैभन्दा बढी मास्टर्स उपाधि जित्ने खेलाडी समेत बनेका छन् ।

यस्तै, महिला एकलको उपाधि चेक रिपब्लिककी क्यारोलिना प्लिसकोभाले जितिन् । चौथौ वरियताकी प्लिसकोभाले ब्रिटेनकी जोहाना कोन्टालाई ६–३,६–४ ले हराइन् । प्लिसकोभा पहिलो पटक यस प्रतियोगिताको विजेता बनेकी हुन् । यो उनको करिअरको १३औं उपाधि हो ।