तेस्रो सोमवार शिवालयहरुमा भिड

प्रकाशित मिति:

आज साउन महिनाको तेश्रो सोमबार देशभरका शिवालय मन्दिरमा दिनभर भक्तजनको घुइचो लागेको छ । रुपन्देहीको सैनामैना १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलवम धाममा श्रावणी मेलाको ११ औ दिन सम्म आइपुग्दा श्रद्धाली भक्तजनको सख्या ह्वात्तै बढेको छ । आज वर्षकै सबै भन्दा बढि भक्तजनले धाममा जर्लापण गरेका छन । बिहान ३ बजेबाट नै धाममा भक्तजनको लाईन लागेको थियो भने साँझसम्म भक्तजनले जर्लापण गरेका थिए । प्राचिन एवं ऐतिहासिक स्वयम उत्पत्तिमान पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलवम धाममा बिहानै देखी पुजाअर्चना तथा जलार्पण गर्न विहानै देखी श्रदालुहरुको घुइँचो लागेको हो । सोमबार मात्र ५० हजार बढि श्रद्धालु भक्तजनले दर्शन गरेको धाम ब्यवस्थापन समितिका अध्यक्ष रामबलि चौधरीले जानकारी दिनु भएको छ ।
पछिल्लो समय धार्मीक कार्यप्रति युवा युवतीको मोह बढदै गएको पाइएको छ । भक्तजनहरुले स्वदेशका पवित्र तिर्थस्थलहरु कपिलवस्तुको वाणगंगा लक्ष्मणघाट, नवलपरासीको त्रिवेणीधाम, तनहुँको देवघाटधाम, गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रिडी रुरु क्षेत्र तथा मित्रराष्ट्रका पवित्र तिर्थ स्थलहरुबाट काँवर र कमण्डलुमा वैदिक विधिले पवित्र गंगाजल ल्याई पर्रोहा बोलबम मन्दिरमा चढाइरहेका छन् । विभिन्न जलायशयहरुबाट जल ल्याएर बोलबम मन्दिरमा जल चढाउँदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको श्रद्धालु भक्तजनको भनाइ छ । शान्तिपुर्ण रुपमा पुजाआजा गर्न पाएको भक्तजनको भनाइ छ ।
श्रावणी मेलाको शुरुवात भए सगै भक्तजनहरु लाई व्यवस्थित तरिकाले पुजाअर्चना एवं जर्लापर्ण गर्ने वातावरण सिर्जना गरीएको धामका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले मन्दिर प्रवेशद्धाराका लागि दक्षिणको एउटा मुल गेट र पुर्वको गेट खुला गरिएको बताउँदै श्रदालु भक्तजनको भिडभाडलाई मध्यनजर गरी सुरक्षा व्यवस्थालाई पनि चुस्त दुरुस्त पारिएको उहाले उल्लेख गर्नुभयो ।