अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्छः देव गुरुङ

प्रकाशित मिति:

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन् ।

शून्य समयमा बोल्दै उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र र रक्षा मन्त्रालयले यो विषय सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन् । पोखरामा केही दिनदेखि १३ देशका सैनिक विपद्‍ व्यवस्थापनबारे सैन्य तालिम गरिरहेका छन् । नेपाली सेना र युएस कमाण्ड एसिया प्यासिफिकको नेतृत्वमा उक्त सैन्य अभ्यास भइरहेको हो । यो सैन्य अभ्यासलाई लिएर चीन लगायतका देशले विरोध गरिरहेका छन् । अमेरिकाले विपद्‍ व्यवस्थापनको नाममा सैन्य अभ्यास सञ्चालन गरेकोमा चीन लगायत शक्ति राष्ट्रले विरोध जनाइरहेका हुन् ।

उक्त सैन्य अभ्यासललाई लिएर नेकपाको उच्च तहबाटै सदनमा सरकारको जवाफ माग भएको हो । संसद्‍को आजको बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवलेल अघिल्लो अधिवेशनदेखि नै उठाउँदै आएका माग पूरा नभएको भन्दै आपत्ति जनाएका थिए ।