प्रधानमन्त्री कप महिला क्रिकेट जेठ अन्तिम साता महेन्द्रनगरमा हुने

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा जेठ अन्तिम साता चौथो प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा जेठ २८ गतेबाट प्रतियोगिता शुरु हुने राखेपले जनाएको छ। प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोलीको सहभागिता रहनेछ।

नेपाल क्रिकेट संघ(क्यान) निलम्बनमा परेपछि राखेपले महिलाहरुको घरेलु प्रतियोगिताका रुपमा प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गर्दै आएको छ। यसअघि काठमाडौं, इटहरी र धनगढीमा प्रतियोगिताका तीन संस्करण आयोजना सकिसकेका छन्। विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख पुरस्कार पाउने परिषदका सदस्यसचिव केशबकुमार विष्टले जानकारी दिए।

८८ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा राखेपले ३५ लाख तथा व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले बाँकी रकम प्रायोजनमार्फत संकलन गर्नेछ। प्रतियोगिताको मुख्य प्रायोजक मिराई एजुकेशन एण्ड भिसा सर्भिसेज रहेको व्यवस्थापक सोसाइटीका अध्यक्ष सुमन भट्टले बताए। ‘पहिलोपटक प्रधानमन्त्री कप आयोजनाको जिम्मा पाउँदा सम्पूर्ण कञ्चनपुरबासी उत्साहित भएका छौं,’ भट्टले भने, ‘महिला क्रिकेटलाई नयाँ आयाम र नयाँ उचाई दिने उदेश्यले प्रीतयोगिता आयोजना गर्नेछौं।’

महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिताका लागि मैदान र पीच व्यवस्थापनको काम यथाशिघ्र चाडो शुरु गरिने भट्टले बताए। ‘हामीले एक दुई दिनभित्रै क्युरेटर लिएर मैदानलाई २०–२२ दिनसम्म खेल्न सक्ने अवस्थामा बनाउँन्छौं,’ उनले भने।