के मोदीलाई राहुल गान्धीले सघाएका हुन्?

प्रकाशित मिति:

भारत – भारतमा सात चरणको मतदानपछि जारी एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदी फेरि सत्तामा आउने देखाएको छ। उत्तर प्रदेश बाहेक हिन्दु बाहुल क्षेत्र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले पाँच वर्ष अघिकैजस्तो वर्चश्व देखाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। योसँगै भारतीय विश्लेषकहरु प्रमुख प्रतिपक्षी दल कांग्रेसको असफलताका कारण मोदी पुन सत्तामा पुग्ने अवस्था आएको बताएका छन्। भारतीय सञ्चार माध्यमले चुनाबलाई कांग्रेस अध्यक्ष राहुल गान्धीको असफलताको रुपमा व्याख्या गरेका छन्।

उनीहरुले क्षेत्रीय दल नभइ कांग्रेसबीच सिधा टक्कर हुने राज्यहरुमै भाजपाले बाजी मार्दै सत्तामा पुग्ने बताएका छन्। मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, कर्नाटक, हरियाणा, गुजरात, उत्तराखण्ड क्षेत्रीय दलका प्रभाव कम रहेका राज्यहरुमा भाजपाले मत बढाएर सत्तामा पुग्ने उनीहरको विश्लेषण छ। डिसेम्बर महिनामा भएको विधान सभा चुनावमा मध्य प्रदेश, राज्यस्थान र छत्तीसगढ राज्यबाट सत्तारुढ बिजेपीबाट कांग्रेसले सत्ता छिन्न सफल भएको थियो।

लोकसभा चुनावका लागि मतदान समाप्त भएपछि सार्वजनिक गरिएको एक्जिट पोलहरुले मध्य प्रदेश र राजस्थान, छत्तीसगढ राज्यमा कांग्रेसले विधानसभाको अग्रतालाई कायम राख्न नसक्ने देखाएको छ। मध्य प्रदेश र छत्तीसगढ राज्यमा कांग्रेस १५ वर्षपछि सत्तामा पुगेको थियो।

राजस्थानमा भाजपासँग कडा प्रतिस्पर्धामा पाँच वर्षपछि कांग्रेस सत्तामा पुगेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीका गृह राज्य गुजरातमा पनि सशक्त विपक्षी दलको रुपमा उदाएको थियो। कर्नाटकाको विधानसभा निर्वाचनपछि कांग्रेसले क्षेत्रीय दल जनता दल सेक्युलरसँग गठबन्धन निर्माण गरेर सरकार गठन गरेका थियो। विधानसभामा उसले सबैभन्दा राम्रो परिणाम छत्तीसगढमा ल्याएको थियो।

सात चरणको निर्वाचनपछि भिन्ना भिन्नै कम्पनीले गरेका एक्जिट पोलहरुा यी राज्यहरुमा भाजपाले कांग्रेसलाई निकै पछि पारेको देखाएका छन्। जब कि क्षेत्रीय दलहरु मजबुत रहेका राज्यहरुमा भने भाजपाका लागि सकस देखिएको छ। भारतको ५ सय ४३ सदस्यीय लोकसभामा सबैभन्दा बढी स्थान उत्तर प्रदेशमा छ। त्यहाँ तीन वटा क्षेत्रीय दल बहुजन समाज पार्टी, समाजवादी पार्टी र राष्ट्रिय लोकदलबीच महागठबन्धनले भाजपाको कम्तिमा आधा स्थानमा घटाउने देखाएको छ। २०१४ मा भएको चुनावमा ८० सिट रहेको उत्तर प्रदेश राज्यमा भाजपाले ७१ र सहयोगी दलले दुई गरी ७३ स्थानमा जीत हासिल गरेको थियो। उत्तर प्रदेशमा प्राप्त गरेको यो सफलताले भाजपाले पूर्ण बहुमत ल्याउन सफल भएको थियो।

त्यसैगरी पश्चिम बंगाल राज्यमा भाजपाले पहिलेभन्दा बढी स्थानमा जित्ने देखिएसँगै ममता बनर्जीको दल ठूलो हुने देखिएको छ। उडिसामा बिजु जनता दल, तामिलनाडु राज्यमा डिएमके, आन्ध्र प्रदेशमा तेलगु देशम पार्टी, वाइसिआर कांग्रेस, तेलंगाना राज्यमा तेलंगाना राष्ट्र परिषदले धेरै स्थानमा जित्ने एक्जिट पोलहरुले देखाएका छन्। कांग्रेसका प्रभाव क्षेत्र रहेका पूर्वी उत्तर राज्यहरुमा समेत भाजपाले अग्रता लिने एक्जिट पोलहरुले देखाएका छन्। बिहार र महाराष्ट्रमा पनि भाजपाकै पक्षमा परिणाम जाने देखिएको छ। एक्जिट पोलहरुले कांग्रेसले आफ्नै बलबुतामा केरल र पञ्जाब राज्यमा मात्रै अग्रता कामय गरेको देखाएको छ। यी दुवै राज्यमा भाजपासँग नभइ अन्य दलसँग मुख्य प्रतिस्पर्धा रहेको थियो। केरलमा कांग्रेसका मुख्य प्रतिस्पर्धा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी र पञ्जाबमा शिरोमणि अलकी दलसँग रहेको छ।

भारतका पत्रकार राजदीप सरदेशाईले क्षेत्रीय दलहरुले भाजपालाई रोक्न आफ्नै भूमिका देखाए पनि कांग्रेसले उपस्थिति देखाउन नसकेको बताएका छन्। यसले चुनावी परिणामपछि राहुल गान्धीको नेतृत्वबारे समेत प्रश्न उठ्ने उनको विश्लेषण छ। स्वराज पार्टीका नेता तथा चुनावी विश्लेषक योगेन्द्र यादवले भाजपाको जीतले भारतको अस्मिताामाथि समाप्त हुने भन्दै त्यसलाई राक्ने कांग्रेस नेतृत्व असफल भएको आरोप लगाएका छन्। भाजपालाई रोक्न नसक्ने कांग्रेस पार्टीको मृत्यु घोषणा गरिनुपर्ने उनले बताए। ‘त्यस्तो भए भाजपालाई रोक्न अर्को विकल्प अघि आउँछ,’ उनको भनाइ छ।