संसदमा पेश मिडिया काउन्सिल बिधेयक फिर्ताको माग गर्दै लुम्बिनी प्रेल क्लबद्धारा ज्ञापन तथा धर्ना

प्रकाशित मिति:

भैरहवा –  लुम्बिनी प्रेस क्लब भैरहवाले मिडिया काउन्सिल बिधेयक फिर्ता गर्न माग गर्दै संघिय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । क्लबले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै क्लबका अध्यक्ष दिपेश पछाईले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको मर्म विपरित समाचार लेखेकै आधारमा छानबिन, कारबाही र सजायको उद्धेश्य सहित नेपाल सरकारले हालै संघीय संसदमा दर्ता गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ दर्ता गरेको प्रति आपत्ती जनाउनु भयो ।

पछाईले समग्र प्रेस जगतलाई नियन्त्रण गर्ने र स्वतन्त्र रुपमा आलोचना गर्ने अधिकारबाट बन्चित गर्ने उद्धेश्यले ल्याइएको उक्त विद्येयक प्रेस स्वतन्त्रता विरोधी रहेको बताउनु भयो । उक्त विधेयकले संविधानले प्रदत्त अधिकारलाई कुण्ठीत गरेको र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने काम गरेको पछाईले जानकारी दिनु भयो ।

क्लबका निबर्तमान अध्यक्ष माधव ढुङ्गानाले श्रमजीवी पत्रकार ऐन र प्रेस काउन्सिल ऐन खारेज गर्नेगरी दर्ता गरिएको विधेयकमा अहिले रहेको प्रेस काउन्सिललाई थप प्रभावकारी बनाउने भन्दै नियन्त्रणकारी प्रवाधान राखिनु लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको विरुद्ध रहेको जानकारी दिनु भयो । ढुङ्गानाले विश्वव्यापी रुपमा मिडियाले स्वनियम गर्ने अभ्यास बढिरहेका बेला सरकारले मिडियालाई आफ्नो पकडमा राख्नेगरी काउन्सिलको अवधारणा ल्याउनु संविधान विपरीत देखिएको बताउनु भयो । उहाले मिडीयालाई हरतरहले स्वतन्त्र राखिनु पर्ने तथा समाचार लेखेकै आधारमा लाखौं जरिवाना र बर्षौ जेल जीवन व्यतित गर्नेगरी प्रस्ताव गरिएको उक्त विधेयक स्वतन्त्रत पत्रकारिताको सिद्धान्त विपरित रहेकोले त्यसलाई संसदबाट तुरुन्त फिर्ता गर्ने प्रक्रियामा लैजान संघिय संसदका दुवै सदनका अध्यक्ष समक्ष अनुरोध गर्नु भयो ।

यसैगरी क्लबका महासचिव सम्झना शर्माले मुलुकमा पछिल्लो समय मिडीयाको विकास ıुत गतिमा भए संगै दुषीत तत्वले त्यसको दुरुपयोग नगरेका भने होइनन् तर त्यसलाई नियन्त्रण गर्न प्रेस काउन्सिल लगायत निकाय रहेका छन् तसर्थ प्रेस काउन्सीललाई अझै सक्रिय बनाउनु पर्नेमा सरकारले प्रत्यक्ष नियन्त्रण गर्नेगरी विद्येयक दर्ता गरिनु गलत रहेको बताउनु भयो ।

सो अवसरमा क्लबका सल्लाहकार कमल रायमाझी,प्रख्यात बन्जाडे,सदस्य सलमान खान, प्रकाश न्यौपाने, शंकर पाण्डे,पशुपति यादव,मोहमद हविव,शशि पन्थी, विष्णुभट्टराई, पत्रकार मनोरन्जन शर्मा, प्रतिक पौडेल,अस्लाम खान लगायतको उपस्थिति थियो । क्लबका पदअधिकारी, कार्यसमिती सदस्य, साधारण सदस्यको उपस्थिती रहेको कार्यक्रममा क्लबले जिल्ला प्रशासन कार्यालय रुपन्देही परिसरमा एक घण्टा धर्ना पनि दिएको हो ।