विद्यालयमा नै राखियो ‘सैलुन’

प्रकाशित मिति:

सिन्धुपाल्चोक – सुनकोशी गाउँँपालिका ६ टिमुरेको कोल्दोङदेवी माविका शिक्षकले विद्यालयमा नै विद्यार्थीको कपाल नै काटिदिन थालेका छन् । विद्यार्थीले गाउँमा समयमा कपाल काट्न नपाएपछि शिक्षकहरुले नै काटिदिन थालेका हुन् । गाउँमा कपाल काट्ने मान्छे नहुँदा विद्यार्थीहरु कपाल काट्न शहर जानुपर्ने बाध्यता थियो । त्यसै कारण कोल्दोङ देवी माविले शिक्षक, विद्यार्थी र अभिभावकलाई कपाल काट्ने तालिम नै सञ्चालन गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा कोल्दोङ देवी माविले जिल्लाका विद्यालयमध्ये यसरी विद्यालयमा नै पहिलो पटक कपाल काट्ने तालिम दिएको हो ।

विद्यालयले व्यवसायिक रुपमा सैलुन सञ्चालन गर्ने बुटवलका नारायण ठाकुरलाई ल्याएर तालिम सञ्चालन गरेको विद्यालयका प्रधानध्यापक शिव कार्कीले जानकारी दिए । तालिमपछि अब विद्यालयले रुटिङ बनाएर हरेक महिना विद्यालयमा नै विद्यार्थीहरुको कपाल निःशुल्क काटिदिने उनले बताए । ‘सबै विद्यार्थीहरुको अब एउटै स्टाइलमा कपाल काटिनेछ’ प्रधानाध्यापक कार्कीले भने ‘सबै विद्यार्थीहरुको ‘पुलीस कट’ हुनेछ ।’ त्यस्तै शिक्षकहरुको पनि विद्यालयमा नै कपाल काट्ने व्यवस्था मिलउने र शिक्षकहरुको पनि कपालको स्टाइल एउटै हुने कार्कीले बताए । विद्यालयले कपाल काट्नका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । व्यावसायिक सैलुनमाजस्तो कपाल काट्नका लागि आवश्यक सामानहरु पनि छन् ।

विद्यालयले सञ्चालन गरेको यस्तो तालिमले विद्यार्थीहरुलाई फाइदा हुने अभिभावक रामकृष्ण थापाले बताए । जिल्लाको नमुना विद्यालयको रुपमा ख्याती कमाएको विद्यालयमा दुई सय बढी विद्यार्थी मध्ये छात्राको संख्या ७० बढी रहेको छ ।

घरेलु कार्यालयले विद्यालयका लागि दुई थान सिलाई मेसिन पनि उपलब्ध गराउने र अब विद्यार्थी शिक्षकहरुको उध्रेको, च्यातिएको ड्रेस विद्यालयमा नै सिलाइने कार्यक्रम पनि छिट्टै सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर कार्कीले जानकारी दिए । मेसिन आएपछि जिल्लामा रहेको जनहित ग्रामीण सेवा समितिसँग समन्वय गरेर विद्यार्थीहरुका लागि आवश्यक सेनेटरी प्याड निर्माणको तालिम पनि सञ्चालन गरिने सदस्य कार्कीले बताए । विद्यालयमा यसअघि नै सेनेटरी प्याड जलाउने इन्सिनेटर निर्माण गरिसकेको छ । -अनलाइनखबर