प्रदेश ३ मा बजेट छलफल : सत्तारुढ सांसदले भने – पढ्न र सुन्नमात्रै मिठो

प्रकाशित मिति:

हेटौंडा – आर्थिक बर्षको अन्त्य आइसक्दा पनि काम नदेखिएको भन्दै प्रदेशसभा ३ मा सत्तापक्ष सांसदले सरकारको आलोचना गरेका छन् । सरकार अहिले पनि बजेट कार्यान्वयनको पक्षमा नरहेको भन्दै सांसदले सरकारको आलोचना गरे । सांसद दीपक निरौलाले बजेट र नीति तथा कार्यक्रमबीच मेल नखादा सरकारको काम नदेखिएको बताए । उनले अघिल्लो पटकको कमजोरी अबको बजेटमा नदोहो¥याउन सरकारलाई सुझाव दिए ।

सांसद चन्द्र लामाले बजेट कार्यान्वयनमा जटिलता देखिएको बताए । उनले बजेट खर्च गर्न नसक्दा अहिले पनि विकासको कामले गति लिन नसकेको टिप्पणी गरे । मंगलबार प्रदेश सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा धारणा राखेका सांसदले सरकारको काम पढ्न र सुन्नका लागि मात्र उपयुक्त भएको बताए । आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता चालु आर्थिक वर्षको जस्तै रहेको भन्दै उनले पढ्ने र सुन्ने भन्दा पनि देखिने काम गर्न सरकारलाई सुझाव दिएका थिए ।

कृषिमा प्राथमिता दिन्छौं भनिरहदा अहिले पनि गाउँमा किसान बस्ने अवस्था नभएको सांसद चेतनाथ सञ्जेलले बताए । उनले किसानको पक्षमा बजेट ल्याउन सरकारलाई सुझाव दिए । सांसद जगतबहादुर सिम्खडाले बजेट कार्यान्वयनको क्रम सन्तोष गर्ने खालको नभएको बताए । ‘पढ्न र सुन्न मात्र होइन साच्चै कामकाजी बजेट चाहियो’ उनले भने । सांसद जीवन खड्काले सार्वजानिक जमिन हडप्ने र गुठीको जमिन खोसेर मुआब्जा नदिएको अवस्थामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

हरेक वर्ष ‘श्री स्वस्थानी’ पढे जस्तै : प्रतिपक्ष प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आगामी वर्षको विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता स्वस्थानी पढेजस्तै भएको प्रतिपक्षी सांसदले बताएका छन् ।

सांसद जीवन डंगोलले भनिन् ‘स्वस्थानीमा भएजस्तै कुमार जी आज्ञागर्नु हुन्छ’ पढे भन्दा फरक छैन । उनले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाइन् । संसदमा पेश भएको सिद्धान्त र प्राथमिकता अघिल्लो आर्थिक बर्षको भन्दा फरक नभएको भन्दै अहिले पनि सरकार स्पष्ट नभएको बताइन् । सांसद निमा लामा, न्हुच्छेनारायण श्रेष्ठ नारायणबहादुर सिलवाल र पुकार मर्हजनले सरकारले सभामा पेश गरेको सिद्धान्त र प्राथमिकता नै बाझिएको बताए । उनीहरुले सरकारले कामको समीक्षा नगरी बजेटको तयारी गरेपनि अघिल्लो आर्थिक बर्षको कामको पनि चित्रण नगरको बताएका थिए । – अनलाइनखबर