पत्रकारको सुरक्षाको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र

प्रकाशित मिति:

भैरहवा स्थित मेडिकल कलेजमा चिकित्सकको लापारवाहीले मृत्यु भएका भनिएका महादेव साहका आफन्तले उनको शव बुझ्ने सहमति भएको छ । कलेज प्रशासन सित वार्तामा उनका आफन्तले शव बुझ्ने सहमति भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृतकका भाई, मामाका छोराहरु र अन्य आफन्तहरु शव बुझ्न तयार रहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले बताए ।
यसै गरि अस्पतालको गरिमामै आँच पुरयाउने गरि दुश्प्रचार गर्ने र आईसियु तथा सिसियुमा तोडफोडमा संलग्न बिद्यार्थीलाई कार्यवाही गर्ने समेत अस्पताल प्रशासनले बताएको छ ।
“संलग्न बिद्यार्थीहरुको सिसिटीभि फुटेजबाट पहिचान गर्ने कार्य भई रहेको छ” मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले भने “आन्तरिक छानविन समिति बनाई उनिहरुलाई कार्यवाही गर्नेछौं ।”

यसरी संलग्न बिद्यार्थीहरुको परिक्षा समेत रोक्न सक्ने अस्पताल प्रशासनले बताएको छ ।यता दोषी चिकित्सकलाई कार्यवाहीको माग गर्दै बिद्यार्थीहरु अनशन बसेका छन । बिद्यार्थीहरुको अनशनका कारण मेडिकल कलेजको बहिरङ्ग सेवा पूर्ण रुपमा प्रभावित बनेको छ । आईतबार आफ्नो सहकर्मिको उपचारमा लापारवाही भएको र उसको ज्यान गएको बताउदै अराजक भएको बिद्यार्थीहरुको समूहले अस्पतालको आईसियु र सिसियुमा तोडफोडको साथै पत्रकारहरुको क्यामरा समेत फुटाएका थिए ।

क्यामरा फुटाईए पछि पत्रकारहरु सुरक्षाको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानालाई भेटेका छन । क्षति भएको सञ्चार सामाग्रीको क्षतिपूर्ति, निष्पक्ष छानविन गरि दोषीलाई कार्यवाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाईएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब भैरहवा र नेपाल प्रेस युनियनले प्रमुख जिल्ला अधिकारीलाई भेटि निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण मिलाई दिन आग्रह गरे । प्रजिय रानाले यस बिषयमा छानविन समिति गठन गरि दोषीलाई कार्यवाही गर्ने आश्वासन दिएका छन ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा डेन्टल सर्जरीमा अध्ययन गर्ने जनकपुरका महादेव साहको उपचारको क्रममा आईतबार विहान मृत्यु भएको थियो । साहको मृत्युपछि सो कलेजमा अध्ययनरत बिद्यार्थी अराजक हुदै अस्पतालमा रहेको आईसियु र सिसियुमा तोडफोड गर्नुको साथै बुद्ध टेलिभिजन कर्मी राधेश्याम विश्वकर्माको क्यामेरा फुटाएका थिए ।