पाँचथर हत्या काण्डः घरज्वाई बस्न नमान्दा ससुरालीको वंशनाश !

प्रकाशित मिति:

 पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘मानबहादुरको श्रीमतीका दाजुभाइ रहेनछन् । उनकी श्रीमतीले मानबहादुरलाई घरज्वाई बस्न आग्रह गरेकी रहिछन् । कुरा नमिलेपछि डिभोर्सको प्रक्रियामासमेत पुगेका रहेछन् । मानबहादुर २ वर्ष विदेश बसेर आएका हरेछन् । त्यसपछि श्रीमान–श्रीमतीबीच सम्बन्ध नराम्रो भएका कारण घरमै बसेका रहेछ्न । ’प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले मुकुण्डो लगाएको व्यक्तिले खुकरी प्रहार गरी हत्या गरेको प्रहरीलाई बताएको पोखरेलले बताए ।

घटनास्थलमा कुनै पनि हतियार फेला परेको छैन । हत्या गरिएका परिवार र रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सामान्य परिवारका व्यक्ति थिए । घटना मध्यरातमा भएको हुनसक्ने बताइएको छ । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

थप समाचार