नन्दीभृंगीहरू समेत लिएर सुनीलको जहाज सवार

प्रकाशित मिति:

प्रा.डा. दुर्गा दाहाल  सुनील: “नील”( नीलो )  मा “सु” उपसर्ग जोडेर “सुनील” अर्थात सुन्दर नील “सुनील” एन.आर. एन नामक जहाजको नयाँ क्यापटेन चुनिनु भएको छ । “सुनील” भन्नाले सुन्दर अथवा श्रेष्ठ बुझिन्छ । खुशीको विषय हो । अबको एन.आर. एन सुन्दर र श्रेष्ठ हुनु पर्छ ।सुनीलको जहाज़मा अर्जुन, पशुपति, बुद्धि, कृष्ण, बाबुराम, सर्वज्ञ, अमृत, नेत्रबन्धु, सन्तोष, दीक्षा र विनोदबन्धु हुनुहुन्छ । साथमा, अन्य कतिपय नन्दी-भृंगीहरू हुनुहुन्छ । अब, यो जहाज़ सही दिशातर्फ निर्देशित हुनु पर्छ ।

पाण्डव पूत्र अथवा कुन्तीसुत अर्जुनको दिव्यदृष्टि  यो जहाजमा पर्नु पर्छ । विद्यावारिधि समेत गर्नु भएका अर्जुनका आँखाहरूले सदैव यो जहाजको निगरानी गर्नु पर्छ । पशुपतिको सकृयता, कुशल पतिको जस्तो व्यवहार, कृपा  र आशीर्वादले यो जहाज़ गन्तव्यमा पुग्नु पर्छ । पशुपतिको भूमिका महत्वपूर्ण हुनु पर्छ । बुद्धि भएनभने कुनै पनि कार्य सुचारूरूपले सम्पन्न हुन सक्तैन । केवल ज्ञान मात्रै भएर  हुन्न, बुद्धि पनि चाहिन्छ । अत: बुद्धि पुर्याएर/ लगाएर अघि बढ्नु राम्रो हुनेछ । कृष्णकन्हैयाको महिमा अपरम्पार छ । उहाँको लीला सर्वव्यापी हुन्छ । “कृष्ण” भन्नाले “सबैभन्दा आकर्षक” भन्ने पनि बुझिन्छ । अत: कृष्णजी ले आफ्नो “लीला” देखाऊँदै, सबैलाई मंत्रमुग्ध बनाऊँदै अघि बढनु हुनेछ । कृष्णजी संगै रामस्वामी पनि हुनु हुन्छ । त्याग र समर्पणका प्रतिमूर्ति राम स्वयं जहाजमा भए पछि जहाज डुब्लाकि भन्ने पीरै भएन ।
हरे राम हरे राम, राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे !!
राम र कृष्ण भएर एन. आर. एनका  सबै रोग-व्याधिहरू हरण गर्नु हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । अर्का एकजना सज्जन व्यक्तित्व पनि जहाजमा सवार हुनुहुन्छ । उहाँको नामै सर्वज्ञ । सबै ज्ञान-गुणका भण्डार । उहाँलाई कसैले सिकाई रहनै पर्दैन । “जुवाघर” मा समेत गएर अनुसंधान गर्ने ज्ञाताले जहाज कता जाँदैछ भन्ने कुराको अनुगमन र अनुसंधान गर्नुनै हुनेछ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । अमृतको घड़ा पनि जहाजमा आयो । अमृतपान गरेर जहाज चलाऊँदा राम्रो हुनेछ । अमृतपान, रसपान आदि गरेर अघि बढ़न सकियो भने एन. आर. एनको यात्रा सुमधुर र अमृतमय हुनेछ ।
अर्का एकजना बन्धु “नेत्र” खोलेर बस्नु भएको छ । शिष्ट, शालीन र नरम स्वभावका धनी नेत्रबन्धु थोरै बोलेर धेरै काम गर्ने दुरदर्शी व्यक्तित्व हुनुहुन्छ । कथं-कदाचित दुर्घटना भएको खण्डमा  “बीमा” समेत दिने आश्वासन सहित जहाजमा चढ़नु भएको छ । “सन्तोष” लिने ठाउँ छ । त्यसैले सन्तोषजी पनि जहाजमा सवार हुनुहुन्छ । सन्तोष बाँडदै उहाँले सबैलाई सन्तोकी/ सन्तोषी बनाउनु हुन्छ, कसैलाई आपसमा झगड़ा गर्नु दिनु हुन्न भन्ने विश्वास छ । दीक्षित भईसकेकी र दुई-दुई विषयको दीक्षान्त समारोहमा उतीर्ण भई यो जहाजमा सम्मिलित दीक्षाले नारीहरूको  प्रतिनिधित्व गर्दै त्याग,समर्पण,  धैर्य र सहनशीलताको पाठ सिकाउँदै पुरूष हरूसंग यात्रा गर्नु कठिन भएता पनि “नारी आवाज़” लाई मुखरित र प्रस्फुटित गराउनुनै हुनेछ ।
यात्रा निरस र मनोरंजनविहीन भएको खण्डमा यात्रीहरूमा उत्साह, उमंग र जोश हराउने भएकाले एकजना पात्रलाई पनि समावेश गरिएको छ । उहाँको नाम “ विनोद” हो । उहाँ “विनोदप्रिय” हुनुहुन्छ । सबैलाई आवश्यकीय सहयोग गर्नुका अतिरिक्त  मनोरंजन प्रदान गर्नु उहाँको ज़िम्मेवारी भित्र परेको छ । यसरी दुईवर्षमा आफ्नो यात्राको अवधि तोकेर, यो जहाजमा अन्य कतिपय नन्दीभृंगीहरू समेत लिएर, सुन्दर सुनीलको  यात्रा प्रारम्भ हुन गई रहेको छ । सुनीलजी लगायत सबै यात्रीहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछु ।
जय एन.आर.एन