अध्यागमन मन्त्री कोलम्यानद्वारा नेपाली सामुदायिक भवनका लागि १० लाख डलर दिने घोषणा

प्रकाशित मिति:

सिड्नी । अध्यागमन मन्त्री डेभिड कोलम्यानले अष्ट्रेलियामा नेपाली समुदयाको बाक्लो उपस्थितिलाई पहिचान गर्दै सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको ओसिनिया क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् ।

यहाँको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन एनएए मार्फत् उनले रकम सहयोग गर्ने छन् । अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानको सहयोगलाई नेपाली समुदायले पहिचान सहितको संबोधन आयोजक एवं गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अभियन्ता महेन्द्र लम्सालले टिप्पणी गरेका छन् ।  सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेलगायतका नेताहरु र ब्यवसायीहरुको सहभागिता रहेको छ ।

इन्भेस्टमेन्ट इनोभेसन र टुरिजम मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्धिजिवीहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि बहस हुने आयोजकले जानकारी दिएका छन् । आयोजक एवं गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अभियन्ता महेन्द्र लम्सालले भने, ‘नेपालमा स्थिर सरकार भएकाले बिकासका निम्ति उपयुक्त वातावरण बनेको र अब प्रवासी नेपालीहरुले योगदान गर्न सक्नेबारे सम्मेलनमा छलफल हुने बताए । ‘सम्मेलनमा गैरआवासीय नेपालीहरुका चासो र सरोकार माथि पनि छलफल हुनेछ जसमा संस्थागत शुद्धीकरण र नेपालमा भएको लगानी सुरक्षा मुख्य मुद्धा हुने छन् । अस्ट्रेलियासहित न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवाटु लगायत देशमा रहेका एनआरएनका राष्ट्रिय समन्वय परिषदको नेतृत्व ओसियाना क्षेत्रीय समितिले गर्छ । मे ११ र १२ सम्म चल्ने ओसियाना सम्मेलन नेपाल सरकार र अस्ट्रेलियास्थित नेपाली समुदायको हितमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको छ ।